निसीखोलामा ४ वर्षमा १८ झोलुंगे पुल: फेरियो स्थानीयको दैनिकी

झोलुंगे पुल निर्माण भएपछि स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन। खोला तर्दा बगाउँछ कि भन्ने चिन्ता छैन।  पशु चौपायालाई समेत वारपार गर्न सहज भएको छ।

ढोरपाटन– बागलुङको निसीखोला गाउँपालिका–९ की ममता घर्ती मगरको घर नजिकै खोला छ। खोला पारि गोठ र बारी छन्। दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ। खोलामा पुल नहुँदा काठको साँघुको भरमा गोठ–घर गर्नुपर्थ्यो। बर्खामा निसीखोला उर्लेर आउँदा समस्या हुन्थ्यो। तर अहिले निसीखोलामाथि झोलुंगे पुल निर्माण भएपछि वारपारमा सहज भएको छ। 

पुल नबन्दा खोलामा खसेर छिमेकीले ज्यान गुमाएको पीडा अझ उनी सम्झिन्छिन्। तर झोलुंगे पुल निर्माण भएपछि स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन। खोला तर्दा बगाउँछ कि भन्ने चिन्ता छैन।  पशु चौपायालाई समेत वारपार गर्न सहज भएको छ। “हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा तर्न सकिँदैनथ्यो,” उनले भनिन्, “काठको साँघु हालेर जोखिमपूर्ण रूपमा खोला तर्ने गर्थ्यौं।”

२०७६ सालपछि निसीखोलामा १८ वटा झोलुंगे पुल निर्माण भएका छन्। जसले हजारौँ स्थानीयको दैनिकी सहज बनाइदिएको छ। निसीखोला गाउँपालिका–४ बडाचौरदेखि झिवाखोला बजार अहिले पाँच मिनेटमा पुगिन्छ। पुल नहुँदा आधा घण्टा लगाएर अर्को पुल प्रयोग गर्नुपर्थ्यो।

जोगिथुम्पाका–बोहरागाउँ स्वास्थ्य चौकी जोड्ने झोलुंगे पुल बनेपछि एकै छिनमा बजार पुगिन्छ। पुल बनेपछि बाह्रै महिना खोला वारपार गर्न सहज भएको अर्का स्थानीय तीर्थबहादुर क्षेत्रीले बताए। “लामो समयदेखि खोला तरेर बजार पुग्नु परेको थियो। युवा जसोतसो खोला पार गरे पनि साना बालबालिका र बूढाबूढीलाई समस्या हुने गरेको थियो। धेरै समय लाग्थ्यो,” उनले भने, “अहिले छोटो समयमा नै बजार पुगिन्छ।”

२०७५/७६ यता निसिखोला–१ मा लेवाङ्खोलाघाट, आङटारीघाट, माडाखोलाघाट, खनिबासघाट र आठबोरघाटमा झोलुंगे पुल निर्माण भएका छन्। वडा नं २ मा खोर्घाघाट, धौलाघाट र खग्रेनीघाटमा पुल निर्माण भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए। 

उनका अनुसार ५ मा चुसिबाङघाट, सरिटाघाट, सेराबाङघाट र मगराखोलाघाटमा पुल निर्माण भएका छन्। ३ मा गहतेराखोलाघाट र ढुवाखोरघाट, ४ मा कारीखोलाघाट, ७ कुतखोलाघाट, सेलाखेतघाट र ५ मा यारीखोलामा पुल निर्माण भएका छन्। संघीय सरकारको ८७ र गाउँपालिकाको १३ प्रतिशत लगानीमा १८ पुल निर्माण भएको हो। 

पुल निर्माणका लागि करिब आठ करोड १० लाख खर्च भएको छ। स्थानीय तह आएपछि छोटो समयमै धेरै पुल निर्माण गर्न सफल भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए। नागरिकको आवश्यकता र मागका आधारमा धेरै ठाउँमा पुल निर्माण गरेको उनको भनाइ छ। “स्थानीय सरकार आएपछि धेरै पुल बने। पुलले नागरिकलाई सहज बनाउने त भयो नै ज्यान पनि बचाउँछ। समय पनि बचाउँछ,” उनले भने, “आवश्यक पर्ने ठाउँमा क्रमैसँग पुल बन्नेछन्।”