मस्यौदा समितिको प्रतिवेदन सर्वसम्मतिले स्वीकृत

राष्ट्रियसभाको बुधबारको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले स्वीकृत गरेको छ। 

काठमाडौँ– राष्ट्रियसभाको बुधबारको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले स्वीकृत गरेको छ। 

बैठकमा ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन प्रतिवेदन, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भई त्यहाँ उठेका प्रश्नको समितिका सभापति आलेमगरले जवाफसमेत दिएका थिए।

उक्त प्रतिवेदनमाथि संशोधनको माग राख्न चाहने सांसदले ७२ घण्टाभित्र आफ्नो संशोधन दर्ता गर्नसक्ने ब्यहोरा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई जानकारीसमेत गराए। बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० लाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ। त्यसअघि अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेश गरिन्।

यस्तै, राष्ट्रियसभाको आजको बैठकले पूर्वमन्त्री तथा संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरेको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गर्दै दिवंगत बुढाथोकीको आत्माको चीरशान्तिको कामनासहित एक मिनेट मौनधारणसमेत गरिएको थियो।