निर्देशनले मात्र चल्दैन, प्रधानमन्त्री स्वयंले काम गर्ने तरिका बदल्नुपर्छ: गगन थापा

प्रधानमन्त्री दाहालले दिँदै आएका निर्देशनप्रति संकेत गदै त्यसले मुलुकमा कुनै पनि समस्याको समाधान नहुने थापाले जिकिर गरे।

काठमाडाैँ– सांसद तथा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आफैँले काम गर्ने तरिका बदल्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पछिल्लो समयमा प्रधानमन्त्री दाहालले दिँदै आएका निर्देशनप्रति संकेत गदै त्यसले मुलुकमा कुनै पनि समस्याको समाधान नहुने जिकिर गरे। निर्देशन मात्रै दिने तर आफू स्वयंले भने काम गर्ने तरिका नबदल्ने हो भने फरक परिणामको अपेक्षा गर्ने कुरा मुर्खता सिवाय अरु केही नहुने महामन्त्री थापाको भनाइ थियो।

उनले प्रधानमन्त्री दाहालले कार्यालय प्रमुखझैं देशको प्रमुखको रूपमा काम गरेर मात्रै मुलुकको समस्या पहिचान हुने र त्यसले समाधान पनि पाउने धारणा राखे। महामन्त्री थापाले तीन वटै तहको सरकारले निर्देशन दिने मात्रै काम गरेकाले जनताको अपेक्षाअनुसार काम हुन नसकेको पनि बताए। उनले मुलुकको समस्या समाधानका लागि प्रधानमन्त्री दाहालले अतिरिक्त पहलकदमी लिनुपर्ने बताए।

“अहिले लामो समयदेखि रोकिराखेका विषयमा काम गर्नुपर्छ भनेर प्रधानमन्त्रीले भनेको हामीले देख्यौं। तर छलफल गरीसकेपछि आज छलफल भयो, मैले भनेको १० दिन, १५ दिनभित्र यति काम गर्ने भनेर निर्देशन दिएको पनि हामीले पढ्यौँ। यो भन्दा अगाडिका प्रधानमन्त्रीले निर्देशन नदिएकाले अहिले मैले निर्देशन दिएकाले हुन्छ भन्ने सोचबाट बाहिर निस्कौँ। निर्देशनले हाम्रो समस्या समाधान गर्दैन। प्रधानमन्त्रीले निर्देशन दिएको देखेपछि मन्त्रीले पनि निर्देशन दिने भए। मन्त्रीले दिएको देखेपछि संसदीय समितिले पनि निर्देशन दिने हो। सबैले सबैलाई निर्देशन दिने मात्रै हो। स्थानीय सरकारहरूको हालत यस्तै छ। प्रदेशको सरकारको हालत यस्तै छ,” उनले भने, “त्यसैले यहाँभित्र हाम्रो समस्याको समाधान खोज्नका निम्ति अतिरिक्त पहलकदमी चाहिएको छ। जसरी कुनै एउटा संस्थाको प्रमुखले संस्थाको नेतृत्व गरेको हुन्छ, दिनको निश्चित समय आफूले दिएको जिम्मेवारी भन्दा बाहेक अरु कुनै जिम्मेवारीको चिन्तन गर्दैन, सोच्दैन। त्यसैलाई पाथमिकतामा राख्छ, नेपालको प्रधानमन्त्रीले पनि त्यसरी नै काम गर्नुपर्छ। त्यसपछि मात्रै त्यो उपलब्ध भएको समयको बीचमा गरिने छलफलले समस्या पनि देखाउँछ, समस्याको पहिचान पनि हुन्छ। समाधान कसरी खोज्ने भन्ने कुरा पनि जान्छ र त्यसैले हामीलाई टुंगोमा पनि पुर्‍याउँछ। काम गर्ने तरिका नबदलिकन फरक परिणाम आउँदैन।”