मन्त्री फेर्ने कुरा मिडियालाई थाहा दिनु हुँदैनः माधवकुमार नेपाल

'प्रधानमन्त्री वा मन्त्री सबैको बारेमा हामीले बाटाघाटामा छलफल गर्नुहुँदैन। मन्त्री नै फेर्नु छ भने पनि जुन दिन फेर्नु छ, ठयाक्कै फेरिहाल्ने हो।'

काठमाडाैँ– सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गरेका छन्।

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेताहरूले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला अध्यक्ष नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले कामै गर्न नसक्ने भन्दै यस विषयलाई अहिले छलफलको विषय बनाउन नहुने तर्क गरेका हुन्। बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने बताए।

"प्रधानमन्त्रीले संसदको यो नयाँ अधिवेशनमा आफ्नो नीति, कार्यक्रम त्यसपछि बजेट यी सबै ल्याउनुपर्ने छ। यस्तो बेलामा को को प्रधानमन्त्री भनेपछि वर्तमान प्रधानमन्त्रीले काम गर्न सक्नुहुन्छ? त्यसो हुनाले प्रधानमन्त्री वा मन्त्री सबैको बारेमा हामीले बाटाघाटामा छलफल गर्नुहुँदैन। मन्त्री नै फेर्नु छ भने जुन दिन फेर्नु छ, ठयाक्कै फेरिहाल्ने हो। मिडियालाई खुसुक्क थाहा दिनु पनि हुँदैन," उनले भने।

प्रधानमन्त्री दाहालले सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले प्रधानमन्त्री फेरबदलको विषय तत्कालका लागि छलफलको विषय हुनै नसक्ने अध्यक्ष नेपालको भनाइ थियो। उनले राष्ट्रियसभा अध्यक्षको चयनमा सत्तारुढ दलहरूबीच विवादको विषय नबन्ने जिकिरसमेत गरे।

अध्यक्ष नेपालले न्यायको निम्ति, अधिकारको निम्ति लड्नेहरूलाई कसैले पनि प्रतिबन्ध लगाउन नमिल्ने बताए।