मच्छिन्द्रलाई यू१६ लिगको उपाधि

विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि उचालेको हो।

काठमाडौँ– मच्छिन्द्र फुटबल क्लबले एन्फा युथ यू१६ लिगको उपाधि जितेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न लिगको अन्तिम खेलमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि उचालेको हो। मच्छिन्द्रले १८ खेलमा ३८ अंक जोड्यो। उपविजेता विभागीय टिम एपीएफ फुटबल क्लबले ३५ अंक जोड्यो। उसले ५० हजार रुपैयाँ पायो।

उपाधि उचालेको मच्छिन्द्रले १ लाख रुपैयाँ पायो। खेलमा १–० गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै मच्छिन्द्रले २–१ गोल अन्तरको पुनरागमन जित हासिल गर्‍यो। फेयर प्लेको उपाधी आर्मी फुटबल क्लबले पायो। यस्तै, बेस्ट गोलकिपरको उपाधि मच्छिन्द्रका पेम्बा नुर्बु भोटेले पाए। उनले नगद १५ हजारसहित ट्रफी हात पारे। सर्वाधिक गोलकर्ता संकटा फुटबल क्लबका सविन नुम्बु मगर भए।

मोस्ट भ्यालुयबल प्लेयर नेपाल पुलिस क्लबका सुवास बम भए। यस्तै, आजै च्यासल रंगशालामा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई ६–२ गोल अन्तरले पराजित गरेको थियो। संकटाले ३३ अंकसहित तेस्रो हुँदै लिग सकायो।