बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्न गएका युवकको करेन्ट लागेर मृत्यु

एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

प्रतीकात्मक तस्वीर

कालीकोट– कालीकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ लयाँटीका २९ वर्षीय प्रकाश बुढाको दैलेख र कालीकोटको सिमाना दही खोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए। मृतक एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ। उनलाई बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्दा करेन्ट लागेको थियो।