काठमाडौँ उपत्यकाकै ठूलो मातातीर्थ २२० केभी सब–स्टेसन निर्माण सम्पन्न

काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सब–स्टेसन हब बनेको छ।

काठमाडाैँ– नेपाल विद्युत् प्राधिकरणले मर्स्यांदी–काठमाडाैँ प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडाैँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०/१३२ केभीको सब–स्टेसन निर्माण सम्पन्न गरेको छ।

त्रिशूली र मर्स्यांदी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मातातीर्थ २२०/१३२ केभी सब–स्टेसन निर्माण गरिएको हो। सब–स्टेसनको क्षमता ३२० एमभीए छ। काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सब–स्टेसन हब बनेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सब–स्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरूको सफलतापूर्वक परीक्षण गरिएको बताए।

"मातातीर्थ सब–स्टेसनलाई २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याउन २२० केभीका त्रिशूली ३ बी हब या मार्कीचोक सब–स्टेसन बन्नु पर्ने छ, मार्कीचोक सब–स्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ, त्रिशूली ३ बी हब आगामी चैतको दोस्रो साताभित्र चार्ज गर्ने गरी काम भइरहेको छ, उक्त सब–स्टेसन सञ्चालनमा आएपछि मातातीर्थ सब–स्टेसन २२० केभीमा चार्ज गरिने छू," उनले भने, "काठमाडाैँ उपत्यकामा विद्युत आपूर्तिका लागि २२० केभीको पूर्वाधार तयार भएको छ, उक्त सब–स्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि काठमाडौँ उपत्यकाको विद्युतु आपूर्ति थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने छ, देशको एकीकृत विद्युत् प्रणालीसमेत सुदृढ बन्ने छ।"

मर्स्यांदी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सब–स्टेसनबाट काठमाडाैँसम्मको मर्स्यांदी–काठमाडाैँ २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ। उक्त प्रसारण लाइनलाई २०७९को असारबाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ। आयोजनाअन्तर्गत नै मार्कीचोकमा २२०/१३२ केभी सब–स्टेसन निर्माणाधीन छ।

त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत काठमाडाैँ उपत्यकामा ल्याउन त्रिशूली–काठमाडाैँ २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी १३२ केभी सञ्चालनमा ल्याइएको छ। मर्स्यांदी–काठमाडाैँ र त्रिशूली–काठमाडाैँ प्रसारणलाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आवद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सब–स्टेसनमा समाहित गरिएको छ।

प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले मर्स्यांदी र त्रिशूलीबाट काठमाडाैँ उपत्यकामा भित्रिएको विद्युत‍्लाई मातातीर्थ सब–स्टेसनबाट १३२ केभीमार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीयरूपमा आपूर्ति हुने बताए।

मर्स्यांदी–काठमाडाैँ प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सब–स्टेसन निर्माण ठेक्का पाएको ठेकेदारको कार्यसम्पादन सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी काम गर्न २०७७ पुसमा नयाँ ठेक्का लगाएको थियो।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना शुरू गरिएको हो। दुईवटा सब–स्टेसनको अनुमानित लागत करिब २ अर्ब रुपैयाँ रहेको छ।