पाकिस्तानः चुनावको पूर्वसन्ध्यामा बम विस्फोट, २८ जनाको मृत्यु

उम्मेदवारको कार्यालय नजिक भएका दुई वटा बम विस्फोटमा २८ दजनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन्।

आमचुनावको अघिल्लो दिन पाकिस्तानको बलुचिस्तान प्रान्तमा उम्मेदवारको कार्यालय नजिक भएका दुई वटा बम विस्फोटमा २८ दजनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन्।

क्वेटा शहरबाट करिब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालय नजिकै विस्फोट भएको थियो। बुधबार बिहान भएको उक्त विस्फोटमा मृत्यु हुनेको संख्या १६ जना पुगिसकेको छ। केही बेरमै त्यसको किरब १५० किलोमिटर पूर्वमा रहेको किला सैफुल्लाहमा अर्को विस्फोट हुँदा १२ जनाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।

किला सैफुल्लाहका प्रहरी उपरीक्षक अख्तर अचकजाईले आमनिर्वाचनअघि भएका बम विस्फोटका कारण प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्। बलुचिस्तानका कार्यवाहक सूचना मन्त्री जोन अचकजाईले आजको विष्फोटको बाबजुद प्रान्तमा आम निर्वाचनको तालिकामा कुनै फरक नपर्ने र बिहीबार नै निर्वाचन हुने बताएका छन्। पिसिन र किला सैफुल्लाह छिमेकी जिल्लाहरू हुन् र यी दुवै जिल्लाहरूको सीमा अफगानिस्तानसँग जोडिएको छ।

अहिलेसम्म कुनै पनि समूहले विष्फोटको जिम्मेवारी लिएको छैन। प्रहरीले दुवै विस्फोटको कारण पत्ता लगाउने प्रयास गरिरहेका छन्।

गत हप्ता पनि बलुचिस्तानलाई चुनावी गतिविधिको निशाना बनाइएको थियो।  बलुचिस्तानको साबी जिल्लामा पाकिस्तान तेहरिक–ए–इन्साफको र्‍यालीलाई निशाना बनाइएको थियो, जसमा चार जनाको मृत्यु भएको थियो। सबीमा भएको विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आईएसआईएस) नामक चरमपन्थी संगठनले लिएको थियो।

निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी बुधबारदेखि तैनाथ हुन थालेका छन् भने ९० हजारभन्दा बढी मतदान केन्द्रमा मतपत्र वितरण गरिएको छ। स्थानीय समयअनुसार बिहीबार बिहान आठ बजे मतदान शुरू भई साँझ पाँच बजे मतदान सम्पन्न हुनेछ। 

राष्ट्रिय र चार वटा प्रान्तीय सभाका लागि करिब १८ हजार उम्मेदवार चुनावी मैदानमा छन्, जसमा २६६ सिटमा प्रत्यक्ष प्रतिस्पर्धा भएको छ। यसमध्ये महिला र अल्पसंख्यकका लागि थप ७० र क्षेत्रीय संसदमा ७४९ स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ।

सन् २०१८ को चुनावपछि स्थापित बहुमतको सरकारका प्रधानमन्त्री इमरान खानलाई चार वर्षपछि अविश्वासको प्रस्तावमार्फत् सत्ताबाट पदच्युत गरिएको थियो। पाकिस्तानी प्रधानमन्त्रीबाट हटाइएका र हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री खानको पार्टी तथा नेताहरूलाई विभिन्न अभियोग लगाउँदै निर्वाचनमा सहभागी हुनबाट रोक लगाइएको छ।