एशियन कपको उपाधिका लागि कतार र जोर्डन भिड्ने

दोस्रो सेमिफाइनलमा कतार इरानलाई ३–२ ले हराउँदै फाइनलमा पुगेको छ। अब उपाधि रक्षाका लागि कतारले जोर्डनको सामना गर्नेछ।

काठमाडौँ– आयोजक तथा साबिक विजेता कतार एशियन कप २०२३ को फाइनलमा पुगेको छ। 

दोस्रो सेमिफाइनलमा कतारले बुधबार राति इरानलाई ३–२ ले पराजित गरेको हो। कतारको जितमा जसिम गबर, अक्रम अफिफ र अलमोज अलिले गोल गरे। 

इरानका सरदर अजमन र अलिरेजा जहानबक्सले गोल गरे पनि जितका लागि पर्याप्त भएन। हारसँगै इरानको सन् १९७६ यता एशियन कप जित्ने योजना अधुरो नै रह्यो। 

कतारले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ। कतारसामु घरेलु मैदानमा उपाधि रक्षाको अवसर रहेको छ। जोर्डन दक्षिण कोरियालाई पराजित गर्दै फाइनलमा पुगेको हो।