पाकिस्तान आम निर्वाचन: मतदान जारी, मोबाइल इन्टरनेट सेवा बन्द

निर्वाचनको दिन पाकिस्तानमा इन्टरनेट सेवा बन्द गरिएको छ। सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ।

तस्वीर: एएफपी

पाकिस्तानको आम निर्वाचनअन्तर्ग बिहीबार बिहानैदेखि मतदान भइरहेको छ। 

बिहान ८ बजे शुरू भएको मतदान बेलुका ५ बजेसम्म जारी रहने त्यहाँको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार हजारौँ मतदान केन्द्रमध्ये एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। 

राष्ट्रिय र चार वटा प्रान्तीय सभाका लागि करिब १८ हजार उम्मेदवार चुनावी मैदानमा छन्। आगामी पाँच वर्षका लागि नयाँ सरकार गठन गर्ने संसद्को तल्लो सदनका २६५ सदस्य छान्न मतदाता मतदान केन्द्रमा पुगेका छन्।

यसमध्ये महिला र अल्पसंख्यकका लागि थप ७० र क्षेत्रीय संसद्‌मा ७४९ स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ।

उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले बताए। आयोगका अनुसार १२ करोड ८० लाखभन्दा बढी पाकिस्तानी जनता अर्थात् देशको कुल जनसंख्याको आधाभन्दा बढी व्यक्ति आम निर्वाचनका लागि मतदान गर्न योग्य मानिएका छन्। 

देशभर ९० हजार ६७५  मतदान केन्द्र स्थापना गरिएको छ। छ हजारभन्दा बढी उम्मेदवार रहेका र खैबर पख्तुनख्वा, पञ्जाब, बलुचिस्तान र सिन्धसहित चार प्रान्तका लागि ५९० वटा सीटमा १२ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। 

यसैबीच, पाकिस्तानमा इन्टरनेट सेवा बन्द गरिएको छ। गृह मन्त्रालयले सूचना जारी गरी सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले इन्टरनेट अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। बिग्रिएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले देशभरका इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरेको छ। 

चुनावका बेला पाकिस्तानमा वम विस्फोट भइरहेका छन्। बुधबार मात्रै बलुचिस्तानमा दुईवटा फरक फरक ठाउँमा भएका वम विस्फोटमा २८ जनाको मृत्यु भएको थियो।