तोकिएको समयभित्र संसद् भवन नबन्ने संसदीय समितिको आकलन, चासो दिन सरकारलाई आग्रह

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ तोकिएकै समयभित्र निर्माणाधीन संसद् भवनको काम सम्पन्न नहुने अवस्था रहेको बताउँछन्।

काठमाडौँ– दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरूले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको स्थलगत अनुगमन गरेका छन्। राष्ट्रियसभाका दुई समितिका सदस्यले बिहीबार निर्माणाधीन संसद् भवनको भौतिक प्रगतिका बारेमा जानकारी लिनुका साथै स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन्। 

निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले तोकिएकै समयमा निर्माणाधीन संसद् भवनको काम सम्पन्न नहुने अवस्था रहेको बताए।

उनले चैत्र १२ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समय दिएको भए पनि समयभित्रै सम्पन्न हुन नसक्ने अवस्था अवलोकनपछि देखिएको उल्लेख गरे। उनले काम ढिलो भइरहेको र ढिलो हुनुमा सामान खरिद प्रक्रियादेखि आवश्यक पर्ने मजदुर काममा नखटाएका लगायतका समस्या देखिएको बताए। 

“तोकिएको समयभित्र सकिने सम्भावना छैन। काम ढिलो नै भइरहेको छ। खरिद प्रक्रियादेखि सामान ल्याउनेबारेमा समस्या भएको र कामदार आवश्यक नलगाएको भन्ने समस्या देखियो,” उनले भने, “सरकारले विशेष चासो राखोस्। २०८१ का अधिवेशनहरू यहीँबाट सञ्चालन हुने गरी तयारी गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ।”

अनुगमनका क्रममा शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मचाकाजी महर्जनले निर्माणाधीन संसद् भवनको स्ट्रक्चरको काम सकिसकेको जनाए। मुख्य संरचनाका रूपमा रहेको प्रतिनिधिसभा र राष्ट्रियसभा छाना छाउने काम थालिसकेका उल्लेख गर्दै उनले असार मसान्तसम्म इन्टेरियरको काम सकिसक्ने जानकारी गराए।

“त्यो सकिएपछि हलभित्रको डेकोरेसनको काम शुरू हुन्छ। असार मसान्तसम्म इन्टेरियरको समयावधि दिएका छौँ। त्योसम्ममा मुख्य संरचनाहरू सकिनेछन्,“ उनले भने, “आउँदो वर्षे अधिवेशनलाई लक्षित गरी काम अघि बढाइएको छ।”