शान्तिबाटिकाबाट हटाइएकाहरू काठमाडौँ महानगरविरुद्ध आन्दोलित

शान्तिपूर्ण रूपमा आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि काठमाडौँ महानगरका मेयर बालेन शाहले हस्तक्षेप गरेका उनीहरूको भनाइ छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै विभिन्न माग तथा मुद्दा अघि सारेर त्यहाँ धर्नामा बसेकाहरू महानगरपालिकाविरुद्ध आन्दोलित भएका छन्। 

शान्तिबाटिकामा विभिन्न माग तथा मुद्दा लिएर छुट्टाछुट्टै समूह धर्ना बस्दै आएको थियो। गत सोमबार काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्नामा बसेका उनीहरूलाई हटाएको थियो।

उनीहरू अहिले महानगरपालिकाविरुद्ध आन्दोलित भएका हुन्। बिहीबार शान्तिबाटिकामा उनीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई काठमाडौँ महानगरले ज्यादती गरेको आरोप लगाए। 

शान्तिपूर्ण रूपमा आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि काठमाडौँ महानगरका मेयर बालेन शाहले हस्तक्षेप गरेका उनीहरूको भनाइ छ। उनीहरूले शान्तिबाटिकामा आफूहरूको धर्ना जारी रहने पनि बताएका छन्।

२३८ दिनदेखि आरती साहको न्यायका लागि भन्दै धर्नामा बसेका आरती साहको दाजु प्रेम साहले आफूहरू हत्यारा, प्रहरी र सरकारबाट मात्रै नभई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबाट पनि पीडित भएको गुनासो गरे।

उनले मेयर शाहले गरिबमाथि दमन र अत्याचार गरेको उल्लेख गरे। उनले शान्तिबाटिका मेयर शाह र काठमाडौँ महानगरको मात्रै सम्पत्ति नभएको भन्दै मेयर शाहलाई तानाशाही व्यवहार देखाइ हिट्लर नबन्न आग्रहसमेत गरे।

त्यस्तै, मिटरब्याज तथा ठगीविरुद्ध किसान, मजदुर संघर्ष समिति उपत्यका सदस्य मुना केसीले गत सोमबार धर्नारत महिला तथा बालबालिकाहरूलाई नगर प्रहरीले जबरजस्ती शान्तिबाटिकाबाट निकालेर ज्यादती गरेको बताइन्।

महिलामाथि ज्यादती गर्ने मेयर शाह र नगरप्रहरीलाई राज्यले कारबाही गर्नुपर्ने उनको भनाइ छ। उनले आफूहरूको आन्दोलन जारी रहेको भन्दै शान्तिबाटिका नछोड्ने स्पष्ट पारिन्। पीडितहरू महानगरको ज्यादतीपछि बिचल्लीमा पर्दा पनि सरकार टुलुटुलु हेरेर बसेको उनले गुनासो गरिन्।

त्यसैगरी, विगत २५ दिनदेखि धर्नारत निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले आफूलाई न्यायालयले मर्न बाध्य बनाएको बताइन्। आफूमाथि राज्यले आतंक मच्चाएको पनि भनाइ थियो।

उनले प्रमाण हुँदाहुँदै पनि निलम्बित न्यायाधीश गिरीलाई न्यायालयले संरक्षण गरिरहेको उनको तर्क थियो। उनले न्यायालय कहिले स्वतन्त्र र शुद्धीकरण हुन्छ? भनेर प्रश्नसमेत गरिन्। पीडितहरूले आफूहरू शान्तिबाटिकामा बसेर विरोध प्रदर्शन गरिरहने बताएका छन्।