सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, बजार भने अभाव

सोलुखुम्बुमा उत्पादित सुन्तला जिल्ला बाहिर पठाउन सकिएको छैन। सुन्तलाले बजार नपाउँदा कुहिएर खेर जाने गरेको किसानको गुनासो छ। 

सल्लेरी– सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन वृद्धि भएको छ। गत आर्थिक वर्षभन्दा ४६९ मेट्रिकटनले सुन्तला उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

यस वर्ष २९५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट दुई हजार १५९ मेट्रिकटन सुन्तला उत्पादन भएको केन्द्रका सूचना अधिकारी कुलबहादुर राईले बताए। यस वर्ष उत्पादन दिने बिरुवाको संख्या बढेसँगै उत्पादन पनि बढेको उनको भनाइ छ।

आठ पालिकामध्ये खुम्बु पासाङल्हामू गाउँपालिकाबाहेक सबै स्थानीय तहमा सुन्ताल खेती हुने गरेको छ। “सोलुखुम्बु हिमाली जिल्ला भए पनि यहाँको धेरै क्षेत्रमा सुन्तलाखेती राम्रो हुन्छ। खुम्बुमा चिसो भएकाले खेती हुँदैन त्यसबाहेक अरू सबै पालिकामा यसको खेती राम्रो हुन्छ,” ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवाले भने, “गत वर्ष रोग, किरा र फलमा देखिने औँसाले दुःख दिएकाले सुन्तला उत्पादन घट्यो यस वर्ष बेलैमा उपचार भएर रोग किरा नियन्त्रण हुँदा उत्पादन बढ्यो।” 

जिल्लामा उत्पादित सुन्तलाको झन्डै ६० प्रतिशत हिस्सा थुलुङ दूधकोसीले ओगटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। थुलुङ दूधकोसीको देउसा क्षेत्र सुन्तलाखेतीको प्रचुर सम्भावना बोकेको ठाउँ भएकाले यहाँ बढी उत्पादन भएको छ। देउसालाई जिल्लाको सुन्तला भण्डारकै रूपमा लिइन्छ। “जिल्लालाई देउसाकै सुन्तलाले धानेको छ। त्यहाँको सुन्तला बगान त हेर्दै रहर लाग्दा छन्, देउसाको सुन्तला स्वादको हिसाबले समेत निकै स्वादिष्ट छ त्यही भएर माग पनि राम्रो छ त्यहाँको सुन्तलाको,” उनले भने। 

ज्ञान केन्द्रका अनुसार जिल्लामा २०७८/०७९ मा एक हजार १३४ मेट्रिकटन र  २०७९/०८० मा एक हजार ६९० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो।  

 बजारीकरणमा समस्या
सुन्तलाको बजार भने अभाव छ। उत्पादित सुन्तलाले बजार नपाउँदा यत्तिकै कुहिएर खेर जाने गरेको देउसाका किसान संगम राईले गुनासो गरे। “सुन्तला धेरै फल्यो भनेर रमाउनु मात्रै हो। बजार छैन। त्यतिकै कुहिएर खेर जाने गरेको छ,” उनले भने, “यहाँको बजारमा कति नै पो बिक्छ र? गाउँमा त वस्तुभाउलाई चारो पकाएर दिने हो।” 

सुन्तलाको बजार जिल्लाभित्र मात्रै सीमित बनेको छ। देउसाको सुन्तला सल्लेरीसम्म ढुवानी गरेर पुर्‍याउँदासमेत किलोको ५० रुपैयाँमा बिक्री हुन मुस्किल रहेको किसान अम्बर राईले गुनासो गरे। “सुन्तलाबाट किसानले खासै राम्रो आम्दानी गर्न सकेका छैनन्। बजार सानो छ। खाने मान्छे कम छन्। त्यसैले गर्दा हामीले फलाएको सुन्तलाको केही भाउ छैन। रोग किरा, औँसाबाट कति दुःख गरेर जोगाउनुपर्छ,” उनले भने, “आम्दानी होला कि भनेर बारीभरि सुन्तलाको बोट रोपियो। योबाट पनि खै त आम्दानी यस्तै त रहेछ नि।” 

जिल्लामा उत्पादित सुन्तला व्यावसायिक रूपमा अन्यत्र पठाउन सकिएको छैन। थुलुङ दूधकोसी गाउँपालिकाले केही मात्रामा सुन्तला काठमाडौँ पुर्‍याएर बिक्री गरे पनि सबै सुन्तला ढुवानी गर्ने व्यवस्था हुन नसकेको किसान संगम राईले बताए। हाट बजारमा बिक्री नभएको सुन्तला फर्काएर लैजानुपर्दा गाडी भाडा तथा ज्यालामा समेत दोहोरो घाटा हुने किसानको दुखेसो छ। 

स्थानीय सरकारले सुन्तला, कागती, जुनारजस्ता सिजनमा हुने फलहरूबाट जुस तयार गर्न सके किसानको लगानी र मेहनतको सदुपयोग हुने नेलेका सन्तोष खत्रीले बताए। सुन्तलाबाट जुस बनाएर बाहिर निर्यात गर्ने सवालमा गम्भीर रहेको थुलुङ दूधकोसी गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताए।