छोरी र बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

पालिकाभित्रका छोरी र विवाह भएर आएका बुहारीलाई पालिकाले छात्रवृत्तिमा स्नातक पढाइरहेको छ। यसले पैसाको अभावमा पढाइ छाड्नुपर्ने, कम उमेरमा विवाहलगायत समस्या घट्ने पालिकाको विश्वास छ। 

इलाम– सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईंलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक पढ्ने भन्ने चिन्ता थियो। तर उहाँलाई नगरपालिकाले निःशुल्क पढाइदियो। उनले ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण गरिन्। अहिले स्नातकोत्तर अध्ययन गरिरहेकी छन्। 

“परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ,” सुजताका बुबा प्रेमले भने, “हाम्रो नगरपालिकाले छोरी र बुहारीलाई स्नातक पढाइरहेको छ। पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छोडेकै कारण कम उमेरमा विवाह हुने जस्ता समस्याबाट मुक्त बनाउन पालिकाको यो काम उदाहरणीय लाग्छ।” 

सूर्योदयले सो कार्यक्रम अन्तर्गत करफोक क्याम्पसमा शततिशत छात्रवृत्ति दिएर पढाउन थालेको चार वर्ष बित्यो। नगरको छात्रवृत्ति कार्यक्रममा १५३ ले स्नातक अध्ययन गरिसकेका छन्। तीमध्ये २३ जनाले उत्तीर्ण गरेको क्याम्पस प्रमुख गोपाल कट्टेलले जानकारी दिए। यस वर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्नेको संख्या २०० पुग्दै छ।  

नगरपालिकाभित्रका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई पालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगरप्रमुख रणबहादुर राईले बताए। “हामीले स्नातक गरिसकेका विद्यार्थीलाई १०० दिनको रोजगारी पनि दिँदैछौँ,” उनले भने, “विद्यार्थीले पढेको विषय र योग्यताअनुसार छोटो समयका लागि भए पनि छात्रवृत्तिमा उत्तीर्ण भएका महिलालाई प्रोत्साहनस्वरुप रोजगारी दिन लागेका छौँ।”

उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा १०० दिनको रोजगारी सहयोगी बन्ने उनले जानकारी दिए। ‘स्नातक गरेका छोरी–बुहारीलाई रोजगारीको कार्यक्रमले थप सिकाइ हुनेछ,” उनले भने, “उनीहरूको दक्षता र क्षमताबाट नगरपालिकाले पनि सहयोग लिन पाउने छ।”

नगरभित्र कोही उच्च शिक्षा अध्ययन गर्न नपाउँदै विवाह गरेर आए पनि शिक्षा लिने अवसरबाट वञ्चित नगराउन यो कार्यक्रम शुरूआत गरेको नगरप्रमुख राईले बताए। “बुहारीलाई पनि पढाउनुपर्छ भन्ने सोच विकास गर्न नगरले यो कार्यक्रम ल्याएको हो,” उनले भने।

नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले शिक्षा, मानविकी, व्यवस्थापन, कम्प्युटरलगायत विद्यार्थीको जुन क्षेत्रमा योग्यता छ, त्यसैमा रोजगारी दिइने बताए। “कलेजमा पढेको विषयसँग सम्बन्धित मात्र होइन, जोसँग जे क्षमता छ, त्यसैअनुसार काम विभाजन हुनेछ,” उहाँले भन्नुभयो, “यसको कार्यविधि बन्न बाँकी छ तर इच्छुक विद्यार्थीका लागि आवेदन माग गरी सूचना जारी गरिसकिएको छ।”

नगरबाट छात्रवृत्ति पाएका महिलाले करफोक क्याम्पसमा अध्ययन गरिरहेका छन्। क्याम्पस प्रमुख कट्टेलले नगरको छात्रवृत्ति कार्यक्रमले दूरदराजका छोरी–बुहारीले क्याम्पस पढ्न पाएको बताए। “दूरदराजमा बसोबास गर्ने छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रमले क्याम्पससम्म ल्याएको छ,” उनले भने, “छात्रवृत्तिमा अध्ययन गर्न पाउने र थप १०० दिनको रोजगारी पनि हुने भएपछि थप प्रोत्साहन मिलेको छ।”