कोशीमा पहिचान पक्षधर र प्रदेश सरकारबीच वार्ता जारी

वार्तालाई पहिचान पक्षधरले उठाउँदै आएका माग सम्बोधनको पहिलो कदमको रूपमा लिनुपर्ने वार्ता समितिका संयोजक तथा मन्त्री जबेगूले बताएका छन्। 

तस्वीर सौजन्य: पूर्वेली प्रेस

काठमाडौँ– ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गर्दै आएका पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच द्विपक्षीय शुक्रबार पनि जारी छ। 

दोस्रो चरणको वार्ता बिहान ८ बजे शुरू भएको हो। यस वार्ताले कुन–कुन विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुंगो लगाउने बताइएको छ। प्रदेशको नाम संशोधन गर्नुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधरसँगको बिहीबारको वार्ता सकारात्मक भएपछि वार्तालाई निरन्तरता दिएका हुन्। 

बिहीबार विराटनगरमा पहिलो चरणको औपचारिक वार्ता भएको थियो। वार्तालाई पहिचान पक्षधरले उठाउँदै आएका माग सम्बोधनको पहिलो कदमको रूपमा लिनुपर्ने वार्ता समितिका संयोजक तथा मन्त्री जबेगूले बताए। 

प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूको नेतृत्वमा बनाएको तीन सदस्यीय टोलीले पहिचान पक्षधरका ११ जनासँग वार्ता गरिरहेको छ। पहिचानका आधारमा प्रदेशको नामकरण र आन्दोलनका क्रममा ज्यान गुमाएका तथा झुटो मुद्दामा फसाइएकालाई उचित क्षतिपूर्ति दिनुपर्ने विषयमा छलफल भएको किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष एवं वार्ता समितिका सदस्य युवराज राईले बताए। 

सरकारले औपचारिक पत्र पठाएर आह्वान गरेपछि कोशी प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समितिले वार्तामा बस्ने निर्णय गरेको थियो। 

माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री जबेगूको नेतृत्वमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्यसचिव रहेको समिति बनाएको थियो।