राहतको पर्खाइमा झापाका ३२१ हात्तीपीडित परिवार

हात्तीपीडितका लागि माग गरिएको ५८ लाख २८ हजार रुपैयाँ राहत रकम आउन ढिलो हुँदा समस्या भएको वन कार्यालय झापाले जनाएको छ। 

बनियानी– झापामा जंगली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका हात्तीपीडित राहतको पर्खाइमा छन्। साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति बेहोरेका ३२१ परिवारले सरकारी राहत पाएका छैनन्। 

हात्तीपीडित ३२१ परिवारलाई ५८ लाख २८ हजार रुपैयाँ राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए। 

उनका अनुसार राहत माग गरिएकामा एक जना मृतकको १० लाख, तीन जना घाइतेका लागि पाँच लाख ८० हजार ९४०, चौपाया एक बराबर १० हजार, विभिन्न घरगोठमा पुर्‍याएको क्षतिको १४ लाख ८२ हजार, भण्डारण गरिएको अन्न क्षति बराबर छ लाख ३९ हजार र बालीनालीमा हात्तीले गरेको क्षतिको २१ लाख १५ हजार छ। 

कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट मृत्यु भएका चारसहित १९४ परिवारलाई राहत माग गर्न विवरण संकलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ। 

मृतक चार जनाको ४० लाख, घाइते तीन जनाका लागि दुई लाख ७० हजार, घरगोठका क्षति पुगेकाका लागि पाँच लाख ६४ हजार, भण्डारण गरिएको अन्न दुई लाख ५२ हजार र बालीनाली १३ लाख ८७ हजार गरी ६४ लाख ७६ हजार राहत मागका लागि तयार गरिएको वन अधिकृत पराजुलीले बताए।

हात्तीपीडितका लागि माग गरिएको राहत रकम आउन ढिलो हुँदा समस्या भएको उनको भनाइ छ।