तथ्यांक भन्छ– नेपालका ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान अवैध

वैध रूपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानमध्ये महिलाको स्वामित्वमा २६ र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको पाइएको छ।

काठमाडौँ– नेपालमा ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान अवैध ढंगले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ। 

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणले यस्तो देखाएको हो। करिब ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान भने सरकारी निकायमा दर्ता भई सञ्चालनमा आएको पाइएको कार्यालयका निर्देशक प्रभा बरालले बताइन्। 

वैध रूपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानमध्ये महिलाको स्वामित्वमा २६ प्रतिशत र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको पनि सर्वेक्षणले देखाएको छ। 

“सर्वेक्षणले ७४ प्रतिशत प्रतिष्ठान पुरुषको स्वामित्वमा र २६ प्रतिशत महिलाको स्वामित्वमा रहेको देखाएको छ। यो दर्ताको आधारमा लिइएको तथ्यांक हो,” उनले भनिन्। 

सर्वेक्षणमा तलब, ज्याला र अन्य सुविधा लिएरभन्दा नलिई काममा संलग्न व्यक्तिको संख्या बढिरहेको पनि देखिएको छ।