एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा विचाराधीन

सञ्चारमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदनबारे मन्त्रिपरिषद्बाट निर्णय नभएकाले सार्वजनिक गर्न नमिल्ने सांसदहरूलाई जवाफ दिएकी छन्।

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्मा विचाराधीन रहेको बताएकी छन्।

सरकारले गत मंसिर २१ गते एनसेलको शेयर खरिद–बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानूनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असर लगायतका विषयमा अध्ययन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा समिति गठन गरेको थियो। करिब डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले माघ १५ गते प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको थियो।

शुक्रबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले बुझाएको सो प्रतिवेदन अध्ययन भइरहेको जानकारी दिएकी हुन्। उनले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिइन्। समितिका केही सदस्यले प्रतिवेदन आफूहरूलाई दिन माग गरेका थिए।

समितिको शुक्रबारको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफल भई पारित भएको छ।