रुपन्देहीमा पूर्वखेलाडीबीच मैत्रीपूर्ण क्रिकेट हुने, एलबी, कलाम र पारसले कप्तानी गर्ने

रुपन्देहीको तिलोत्तमा पूर्वखेलाडीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता टी१० फर्म्याटमा आयोजना हुनेछ।

काठमाडौँ– रुपन्देहीको तिलोत्तमा पूर्वखेलाडीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी तथा तिलोतममा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानका ब्रान्ड एम्बासडरसम्मेत रहेका शक्ति गौचनले फागुन १४ गते उक्त प्रतियोगिता हुने जानकारी गराएका हुन्।

उनका अनुसार प्रतियोगितामा सन् १९९६ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको टोली, सन् २०१४ मा टी२० विश्वकप खेलेको टोली, रेस्ट अफ नेपाल र रुपन्देही लेजेन्ड्सले सहभागिता जनाउने छन्। प्रतियोगिता टी१० फर्म्याटमा आयोजना हुनेछ।

“१९९६ को टोलीमा सबै खेल्न सक्ने हुनुहुँदैन। सञ्जय सर (सञ्जय गुरुङ) उहाँले पनि मिस गर्नुहुन्छ। उत्तम दाइ (उत्तम कर्माचार्य) अमेरिका हुनुहुन्छ। हामी १९९६ देखि २०१४ सम्मका खेलाडीको मिक्सअप गरेर टोली बनाउँछौँ,” उनले भने, “२०१४ को टिममा रहेका हामी पाँच जना जतिले मात्रै प्रतियोगिता खेल्छौँ होला।”

उनका अनुसार सन् १९९६ को टोलीको कप्तानी लेखबहादुर क्षेत्री (एलबी)ले गर्ने छन्। यता, रेस्ट अफ नेपालको कप्तानी कलाम अलीले गर्ने छन्। रुपेन्देही लेजेन्ट्सको कप्तानी भने हरिबहादुर थापाले गर्ने सम्भावना रहेको गौचनले जानकारी दिए। सन् २०१४ को टोलीको कप्तानी भने पारस खड्काले गर्ने छन्।

“सन् २०१४ मा एक मिराकल गरेका थियौँ। त्यो सपना पारस र हामीले मिलेर देखेका थियौँ। त्यतिखेर पारस नै कप्तानी थियो। म खेलाडी थिएँ। यसपटक पनि पारसले कप्तानी गर्ने र म खेलाडी हुनेछु,” उनले भने।

उनका अनुसार प्रतियोगिता मैदानको उद्घाटनको अवसर पारेर हुन लागेको हो। मैदान लगभग तयार भइसकेको उनले जानकारी दिए।