पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने माओवादी नेताहरूको जोड

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुने गरी बनाउनुपर्नेमा नेताहरूले जोड दिएको बताए। 

काठमाडौँ– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टीको विधानमा समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्नेमा जोड दिएका छन्। शुक्रबार पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी केन्द्रका नेताहरूले संविधानमा नै समाजवादोन्मुख राज्यव्यवस्थाको उल्लेख गरिएकाले पार्टीको विधानमा पनि समाजवादी विचारधारा अभिव्यक्त हुनुपर्ने धारणा राखेका हुन्। 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको विधान समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित हुने गरी बनाउनुपर्नेमा नेताहरूले जोड दिएको बताए। 

“जसरी हाम्रो संविधानमा प्रस्तावनामा लोकतन्त्रमा आधारित समाजवाद भनेको छ र प्रारम्भमा समाजवादोन्मुख राज्यव्यवस्था भनेको छ, त्यसैगरी हाम्रो विधानमा पनि समाजवादोन्मुख राज्य व्यवस्था भनेर संविधानमा जसरी उल्लेख गरेको छ, विधान पनि समाजवादी मूल्य, मान्यता, आदर्श स्थापित हुने गरी, समाजवादी विचारधारा अभिव्यक्त हुने गरी लेख्नुपर्छ भन्ने छ,” उनले भने। 

उनका अनुसार केन्द्रीय समिति १५१ सदस्यीय बनाउने गरी छलफल भएको छ। “यो सबै कुराको अन्तिम निष्कर्ष विधान सम्मेलनमै गएर हुन्छ। आज सैद्धान्तिक, नीतिगत छलफल बढी भयो,” उनले भने।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विधान अधिवेशन, विधान र केन्द्रीय कमिटी बैठकको व्यवस्थापनको सम्बन्धमा ‘ब्रिफिङ’ गरेका थिए। शान्तिप्रक्रियालाई टुंग्याउनका लागि दलहरूबीच घनिभूत रूपमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बैठकमा बताएको प्रवक्ता सापकोटाले जानकारी दिए।  

शुक्रबारको बैठकमा विधान मस्यौदा कार्यदलको संयोजक उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र वर्षमान पुनले आफ्नो भनाइ राखेका थिए। सचिवहरू गणेश साह र राम कार्की तथा स्थायी कमिटी सदस्य शशी श्रेष्ठले पनि बैठकमा धारणा राखेका थिए। बैठक शनिबार पनि बस्नेछ।