कोशीमा मन्त्रिपरिषद् विस्तार, थपिए ४ मन्त्री र २ राज्यमन्त्री

कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराए।

मोरङ– कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री कार्कीले चार जना मन्त्री तथा दुई जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् बिस्तार गरेका हुन्। यससँगै कोशी मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ।

स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सनुवार र उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री तथा सामाजिक विकासमन्त्रीमा माओवादी केन्द्रका राजेन्द्र कार्की र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगर नियुक्त भए। उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका छन्।

मुख्यमन्त्री कार्कीले दुई कांग्रेसका प्रदेशसभा सदस्यलाई राज्यमन्त्रीमा समेत नियुक्त गरेका छन्। आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ राम नियुक्त भएका छन्। उनीहरूलाई मुख्यमन्त्री कार्कीले शपथ गराए।

यसअघि आन्तरिक मामिला तथा कानूनमन्त्रीमा शमशेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त भएका थिए।