‘सडक व्यापारलाई तीनै तहका सरकारले कानूनी रूपमा व्यवस्थित गर्नुपर्छ’

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदले सडक व्यापारीलाई हटाउने नभई कानून बनाएर व्यवस्थित बनाउनुपर्ने बताउँछन्।

काठमाडौँ– सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदले सडक व्यापारीलाई हटाउने नभई कानून बनाएर व्यवस्थित बनाउनुपर्ने बताएका छन्।  

शुक्रबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी र सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस सांसद रमा कोइराला (पौड्याल)ले सडक व्यापारलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन्।

प्रमुख सचेतक गिरीले सडक व्यापारलाई व्यवस्थित बनाउन सरकारसँग माग गरे। सरकारले नीतिगत र कानूनी रूपमै सडक व्यापारलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो। 

सानो अर्थतन्त्र भएको मुलुकमा सडक व्यापार पनि आर्थिक क्रियाकलापको महत्त्वपूर्ण पाटो हुने भएकाले तीन वटै तहका सरकारले मिलेर यसलाई व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए। 

“सानो सानो पुँजीलाई लिएर मान्छेले आत्मनिर्भरताको बाटो लिइरहेका बेलामा यो एउटा अर्थतन्त्रको महत्त्वपूर्ण पाटो बन्न सक्छ। तर यसलाई नीतिबाट गाइड गर्नु पर्‍यो। विधिबाट गाइड गर्नुपर्‍यो। कानूनद्वारा व्यवस्थित गर्नुपर्‍यो। यसतर्फ सोच्नुपर्छ तीन वटै तहको सरकारले,” उनले भने।

प्रमुख सचेतक गिरीले सडक व्यापारको व्यवस्थापनका लागि आफ्नो पार्टीले संसद्मार्फत सरकारलाई दबाब दिने प्रतिबद्धतासमेत व्यक्त गरे।

कांग्रेस सांसद कोइरालाले गरिखानेहरूलाई उठिबास लगाउने ढंगले काठमाडौँ महानगरपालिकाले सडक व्यापारीहरूलाई विस्थापित गर्ने काम गरेको आरोप लगाइन्। 

व्यवस्थापन नगरी सडक व्यापारीलाई हटाएकोमा काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहप्रति असन्तुष्टि व्यक्त गरे‍की उनले महानगरको सौन्दर्य नबिग्रने गरी सडक व्यापार गर्न दिने गरी तत्काल निर्णय लिन आग्रह गरिन्।

काठमाठौँ महानगरका मेयर साह युवा र ऊर्जावान् रहेको उल्लेख गर्दै उनले गरिखानेहरूलाई सडकपेटी अव्यवस्थित हुने गरी व्यवस्थापन गर्न सुझाव दिइन्।

“व्यापारीहरूलाई पनि सजिलो हुने र महानगरको सौन्दर्य पनि नबिग्रने गरी उनीहरूलाई सडक व्यापार गर्न दिनुपर्छ। त्यतातिर ध्यान दिनुपर्छ महानगरपालिका पनि,” उनले भनिन्।

सांसद कोइरालाले व्यापार हुने ठाउँमा सडक व्यापारीको व्यवस्थापन गर्न ध्यान दिँदा उचित हुने धारणा राखिन्।