दरवाङ–धारापानी सडक स्तरोन्नति, छोटियो यात्रा

दरवाङदेखि धारापानी पुग्न गाडीमा ४५ मिनेट लाग्ने गरेको थियो। सडक स्तरोन्नति भएपछि यात्राअवधि १५ मिनेटमा छोटिएको धौलागिरि–७ धारापानीका रिमप्रकाश थापाले बताए।

म्याग्दी– म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको छ। 

दरवाङदेखि धारापानी पुग्न गाडीमा ४५ मिनेट लाग्ने गरेको थियो। सडक स्तरोन्नति भएपछि यात्राअवधि १५ मिनेटमा छोटिएको धौलागिरि–७ धारापानीका रिमप्रकाश थापाले बताए। “१२ वर्षअघि चन्दा जुटाएर मार्ग मात्र खोलिएको सडक कच्ची साँघुरो र ग्रेड नमिलेको थियो,” उनले भने, “घुम्ती तथा मोड र ग्रेड सुधारसँगै अप्ठ्यारो ठाउँमा ढलान भएपछि यात्राका क्रममा सहज र सुरक्षित महसुस हुन थालेको छ।”

नयाँ मार्ग खोल्ने, ग्रेड सुधार, विस्तार, नाली निर्माण, ग्रेड, घुम्ती सुधार र ढलान भएपछि धौलागिरि गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने मुख्य दरवाङ–धारापानी–ताकम–मुना सडकको दरवाङ–धारापानी खण्डको यात्रा सहज बन्न थालेको छ। सडक सुधार भएपछि यातायातको भाडादर घटाउन स्थानीयले माग गरेका छन्।

२०६७ सालमा स्थानीय बासिन्दा र तत्कालीन गाविसको अनुदानमा एक करोड ५० लाख रुपैयाँ खर्चेर यो सडकको मार्ग खोलिएको थियो। गण्डकी प्रदेश सरकारको पालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गर्ने योजनाअन्तर्गत २०७६ चैत ४ गते दरवाङदेखि फेदी हुँदै धारापानी खण्डको ६ किलोमिटर ६०० मिटर सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भएको थियो। 

१४ करोड ३८ लाख ६७ हजारमा २०७८ असारमा सम्पन्न गर्ने लक्ष्यसहित धुलिखेल–ब्राइट–कुँवर जेभीले पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का लिएको थियो। आयोजनाको ४६ प्रतिशत भौतिक प्रगति भएको अवस्थामा सहायक निर्माण व्यवसायीले काम छाडेपछि करिब एक वर्ष अलपत्र परेको थियो।

३.५ देखि ४ मिटर फराकिलो रहेको सडक सरदर ७.५ मिटर फराकिलो बनाइएको छ। ग्रेड नमिलेको ठाउँमा ४०० मिटर नयाँ मार्ग खोलिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका सूचना अधिकारी अर्जुन शर्माले बताए। “बादिका भिरमा साँघुरो र उकालो सडक भएका कारण दुर्घटनाको जोखिम थियो,” उनले भने, “सडक फराकिलो र ढलान गरेर यात्रालाई सहज र सुरक्षित बनाउने हाम्रो उद्देश्य हो। उकालो र भिरालो सडकमा गाडी बिग्रिने, दुर्घटना हुने, फस्ने, उक्लिन नसक्ने समस्या हटेको छ।”

प्रदेश सरकारले चालु आवमा पाँच करोड बजेट विनियोजन गरेको छ। यो सडकलाई मुना हुँदै ढोरपाटन र पूर्वी रुकुमसँग जोडेर मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गको रूपमा विकास गर्न जोड दिइएको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए। 

“धारापानीदेखि ताकम हुँदै शिवाङ जोड्ने चार किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश सरकारले पाँच करोड विनियोजन गरेको छ,” उनले भने, “सो सडक योजनालाई २५ करोड बजेटको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान भइसकेको छ।”