सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धनमा कूटनीतिक पहल आवश्यक: प्रधानमन्त्री

आफूले नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको र तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको उनको दाबी छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने बताएका छन्। 

नेपाल हिमालय सीमापार वाणिज्य संघको २४औँ साधारण सभाको शनिबार उद्घाटन गर्दै उनले व्यापार प्रवर्द्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा जानकार रहेको बताए। आफूले तेस्रो पटक सरकारको नेतृत्व गरेपछि नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको र तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको उनको दाबी छ। 

“चीन भ्रमणका क्रममा मैले नेपाल–चीनको संयुक्त प्रयासबाट यस क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको थिएँ,” प्रधानमन्त्री दाहालले भने, “यस ऐतिहासिक भ्रमणका क्रममा नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल भएको छ। यसले सीमापार व्यापार प्रवर्द्धनका क्षेत्रमा गुणात्मक अर्थ राख्छ।”

२०५५ सालमा तातोपानी व्यापार सहयोग संघका नामबाट स्थापना भएको संस्था हाल नेपाल हिमालय सीमापार वाणिज्य संघका रूपमा परिणत भएको छ। एक हजार दुई जना सदस्य आबद्ध रहेको यस संस्थामा चीनबाट आयात गर्ने र चीनमा निकासी गर्ने धेरै व्यापारी व्यवसायी क्रियाशील छन्। 

संस्थाका सम्पर्क युनिट उत्तरी भन्सार नाका तातोपानी र रसुवामा रही सीमापार व्यापार व्यवस्थापनमा खेलेको भूमिका महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ छ।