एक खेलअगावै नेपालले जित्यो क्यानडाविरुद्धको शृंखला

पहिलो खेलमा ७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा क्यानडालाई ४ विकेटले पराजित गर्दै एक खेलअगावै तीन एकदिवसीय शृंखला जितेको छ।

काठमाडौँ– नेपालले क्यानडाविरुद्धको तीन एकदिवसीय शृंखला एक खेलअगावै आफ्नो पक्षमा पारेको छ। शनिबार भएको दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गर्दै शृंखला जितेको हो। नेपालले पहिलो खेलमा क्यानडाविरुद्ध ७ रनको रोमाञ्चक जित हात पारेको थियो।

क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक उच्च स्कोर बनाए। उनले १०१ बल खेल्दै ८ चौका र ४ छक्काको मद्दतमा उनले ८७ रन बनाए।

देव खनालले ७६ रन बनाए। उनले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अनिल साहले २० बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाएर आउट भए। भीम सार्कीले २३ र पवन सराफले १४ रन बनाए।

May be an image of 1 person and text


क्यानडाका लागि हार्श र ईश्वरजोत सोहीले २/२ विकेट लिए। सयाद बिन जाफर र दिलप्रीत बज्वाको नाममा समान १/१ विकेट रह्यो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन जोड्यो। क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्बाधिक ६५ रन जोडे। उनले ६२ बलमा १० चौका र २ छक्का प्रहार गरे।

नवनित धलिवालले  ४६, श्रेयश मोभ्वाले ४०, पर्गत सिंहले ३८, निकोलस कीर्तन र उदय भगवान्ले समान २०/२० रन जोडे। दिलप्रीत बज्वाले १९ तथा शाहिद अहमदजाइलाई १३ रन बनाए।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान २/२ विकेट लिए। सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा १/१ विकेट रह्यो।