एकीकृत प्रयासबाट सागर र हिमालका समस्या समाधान गर्नुपर्छ: परराष्ट्रमन्त्री

मन्त्री साउदले समुद्री संरक्षण र दिगो उपयोग, मानव जातिको साझा हित, राष्ट्रिय अधिकार क्षेत्रभन्दा जैविक विविधताको संरक्षणमा जोड दिए।

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै यो हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रूपमा रहेको बताएका छन्।

अस्ट्रेलियाको पर्थमा सातौँ इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले सागर र हिमाली समस्या समाधान एकीकृत र समग्रमा गर्नुपर्ने उल्लेख गरे।

अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा भइरहेको सम्मेलनमा मन्त्री साउदले हिन्द महासागरलाई भूगोलका रूपमा सीमित नभई संसारको सभ्यताको केन्द्र रूपमा रहेको बताए। “हिन्द महासागर भूराजनीतिक, भूरणनीतिक र भूआर्थिक महत्वका दृष्टिकोणले हेर्नुपर्दछ,” उनले भने। 

“यहाँ दुःखका साथ भन्नुपर्छ, हिन्द महासागरले परम्परागत र गैरपरम्परागत दुवै सुरक्षा चुनौतीको सामना गर्नुपरेको छ”, मन्त्री साउदले अगाडि भने, “समुद्री आतंकवाद, डकैती, लागुऔषध र हतियारको ओसारपसार, मानव बेचबिखन, गैरकानूनी आप्रवासन एवं नेभिगेसनको स्वतन्त्रतामा अवरोधलगायत सुरक्षा चुनौती गम्भीर रूपमा खडा हुनु दुखद छ।” हिन्द महासागर नेपालको वैदेशिक व्यापारका लागि एक हिस्सेदार र अन्तर्राष्ट्रिय बजारमा पुग्ने लाइफलाइनका रूपमा रहेको उनको भनाइ थियो।  

नेपालले महासागरको महत्त्वलाई विश्वव्यापी जनहितका रूपमा मान्यता दिएको बताउँदै मन्त्री साउदले समुद्री संरक्षण र दिगो उपयोग, मानव जातिको साझा हित, राष्ट्रिय अधिकार क्षेत्रभन्दा जैविक विविधताको संरक्षणमा जोड दिए।