ललितपुरमा २ बालबालिका र आमाको मृत्यु

घरको चौथो तलाबाट हाम फालेकी रविना महर्जन र अचेत अवस्थामा भेटिएका उनकी छोरी २ वर्षीया रिवा र ६ वर्षीय छोरा अश्वेतको उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौँ– ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित एक घरका दुई बालबालिका र आमाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले घरमा अचेत भेटिएका छ वर्षीय अश्वेत महर्जन र दुई वर्षीया रीवाको शनिबार राति मृत्यु भएको जानकारी दिए। किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

यस्तै, घरको चौथो तलाबाट हाम फालेकी ती बालबालिकाकी आमा रविना महर्जनको पनि उपचारका क्रममा मृत्यु भएको एसपी कार्कीले बताए। 

“लगत्तै स्थानीयले उद्धार गरेर किस्ट अस्पताल लगेका थिए, तर उपचारका क्रममा मृत्यु भएको छ,” उनले भने।

रविना, श्रीमान्, सासू र दुई सन्तानसहित घरमा बस्दै आएकी थिइन्। प्रहरीका अनुसार घटना भएका बेला घरमा श्रीमान् थिएनन्।

घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।