निसीमा खानेपानीको समस्या: बजेट अभावले शुरू भएन आयोजना

संघीय सरकारले निसीमा एक घर एक धारा निर्माण गर्ने योजना लिएको छ। तर, १२ करोड ९८ लाख लागतको खानेपानी आयोजनामा दुई वर्षमा २३ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ।

ढोरपाटन– बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ। 

निसीमा घर–घरमा धारा बने पनि पानी नआउँदा १५ घरपरिवारले एउटै धाराबाट पानी उपभोग गर्नुपर्ने अवस्था छ। संघीय सरकारले निसीमा एक घर एक धारा निर्माण गर्ने योजना लिएको छ। तर, बजेट अभावमा काम हुन सकेको छैन। खानेपानी आयोजना निर्माण सम्पन्नका लागि १२ करोड ९८ लाख लागत लाग्ने भए पनि दुई वर्षमा २३ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ।

गत वर्ष शुरू भएको आयोजना यस वर्ष सकिनुपर्ने हो। बजेट अभावका कारण सर्वेक्षणको कामबाहेक अरू हुन सकेको छैन। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीबाट सञ्चालित आयोजनाका लागि २०७९/८० मा २० लाख र चालु आवमा तीन लाख ८५ हजार मात्रै बजेट विनियोजन भएको छ। करोडौँका आयोजनामा २३ लाख ८५ हजार मात्रै विनियोजन हुँदा काम अन्योलमा छ। लामो समयदेखि खानेपानी समस्यामा गुज्रिएका निसीवासी एक घर एक धाराका लागि सर्वेक्षण हुँदा हर्षित भएका थिए। अहिले पनि छिट्टै घर–घरमा धारा बन्नेमा आशावादी छन्। तर योजना के हुने हो भन्ने टुंगो छैन।

खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर नवीन सुवेदीले दुई वर्षमा सकिनुपर्ने आयोजनाको बजेट अभावले काम हुन नसकेको बताए। बस्तीभन्दा धेरै टाढा रहेको नौबहिनी मुहानबाट निसीगाउँमा ७४६ वटा धारा बनाउनका लागि सर्वेक्षण गरिएको छ। यो आयोजना समयमै सकिए यहाँका पाँच हजार ५८१ नागरिक लाभान्वित हुने इन्जिनियर सुवेदीले बताए। 

“बजेटको यो आकार हेर्दा दशौँ वर्षसम्म पनि यो आयोजना सकिँदैन। अहिले सर्वेक्षण मात्रै भएको छ,” उनले भने, “यति बजेटले केही हुँदैन। थप बजेटका लागि पहल गरिरहेका छौँ।”

निसीखोला गाउँपालिका–६ का वडा सदस्य भरत सुनारले निसीमा बाहिरबाट आएर मानिस बसोबास गर्न थालेपछि एउटा धाराबाट १५–१६ घरधुरीले पानी उपभोग गर्नुपर्ने अवस्था रहेको बताए। तीन दशक अगाडि निर्माण भएका धारा व्यवस्थित नभएको उनको भनाइ छ। अव्यवस्थित धाराबाटै स्थानीयले पानी प्रयोग गर्न बाध्य छन्। 

सरकारले एक घर एक धारा बनाउने भने पनि अहिलेसम्म बन्न नसकेको स्थानीय भुलबहादुर विकले गुनासो गरे। पुरानो धाराबाट शुद्ध र स्वच्छ पानीसमेत स्थानीयले पिउन नपाएको उनको भनाइ छ।