सरकारले घोषणा गरेको वर्ष दिनमा यू१९ टोलीले पायो नगद पुरस्कार

यूएईमा भएको आईसीसी यू१९ विश्वकप एशिया छनोटको निर्णायक खेलमा घरेलु टोलीमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल ८ वर्षपछि विश्वकपमा पुगेपछि सरकारले खेलाडीलाई नगर पुरस्कार दिने घोषणा गरेको थियो।

काठमाडौँ– सरकारले घोषणा गरेको एक वर्षपछि यू१९ टोलीलाई नगर पुरस्कार रकम प्रदान गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आईसीसी यू१९ विश्वकप एशिया छनोट विजेता नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार प्रदान गरेको जानकारी दिएको हो। 

गत वर्षको फागुनमा यूएईको अजमानस्थित इडेन गार्डेन ओभलमा भएको निर्णायक खेलमा घरेलु टोलीमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल ८ वर्षपछि विश्वकपमा पुगेको थियो।

विश्वकपमा पुगेसँगै सरकारले खेलाडीलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने जनाएको थियो। गत मंसिर १९ गते यू१९ एशिया कप छनोट खेल्न जाने टोलीको बिदाइ गर्ने क्रममा मुख्य प्रशिक्षक जगत टमाटाले सरकारले घोषणा गरेको पुरस्कार रकम नपाएको भन्दै चाँडै उपलब्ध गराइदिन युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूलाई आग्रह गरेका थिए।

मन्त्री लिम्बूले अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको बताउँदै पुरस्कार रकम दुई दिनमै खेलाडीको बै‌क खातामा पठाइने बताएका थिए। तर, त्यसको दुई महिनापछि मात्रै खेलाडीले नगद पुरस्कार प्राप्त गरेका हुन्।

मन्त्रालयका अनुसार टोलीका कप्तान देव खनाल, उपकप्तान दीपेशप्रसाद कँडेलसहित दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, दीपकप्रसाद डुम्रे, अर्जुन कुमाल, हेमन्त धामी, दीपक बोहरा, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशालविक्रम केसी र मिलन बोहरालाई जनही ३ लाख रुपैयाँ नगद दिइएको हो।

यस्तै, मुख्य प्रशिक्षक जगत टमाटालाई २ लाख र टिम व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवालाई १/१ लाख रुपैयाँ दिइएको छ।

नेपाली टोली विश्वकप खेलेर गत सोमबार दक्षिण अफ्रिकाबाट स्वदेश फर्किएको थियो। नेपाल अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा पुगेको थियो। तर, सुपर सिक्समा बांग्लादेशसँग ५ विकेट र भारतसँग १३२ रनले पराजित भयो।