बक्सिङमा ऐतिहासिक रजत दिलाएकी सुष्मालाई ६ लाख रुपैयाँ प्रदान

थाइल्यान्डको बैंककमा आयोजित एएसबीसी एशियन यू२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी सुष्मा तामाङले सरकारबाट नगद पुरस्कार प्राप्त गरेकी छन्।

काठमाडौँ– गत माघमा थाइल्यान्डको बैंककमा आयोजित एएसबीसी एशियन यू२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी सुष्मा तामाङले सरकारबाट नगद पुरस्कार प्राप्त गरेकी छन्।

उनलाई युवा तथा खेलकुद मन्त्रालयले आइतबार  ६ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो। प्रतियोगिताको ४८ केजी तौलसमूहमा सुष्माले क्वार्टरफाइनलमा भियतनामकी फाम थी किनहानलाई पराजित गरेकी थिइन्।

यस्तै, सेमिफाइनलमा मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई तेस्रो राउन्डमा रेफ्री स्टोप कन्टेस्ट (आरएससी)का आधारमा पराजित गर्दै फाइनल पुगेकी थिइन्।

फाइनलमा भने सुष्मा उज्बेकिस्तानकी फोजिलोभा फार्जोनासँग ५–० ले पराजित भएकी थिइन्। कुनै पनि नेपाली बक्सरले एशियालीस्तरको आधिकारिक प्रतियोगितामा फाइनलमा स्थान बनाएको यो नै पहिलो पटक थियो।

यसअघि सुष्माका प्रशिक्षक दीपक महर्जनले एशियाडमा कांस्यपदक जितेका थिए। उनले सन् २०१० मा चीनको ग्वाझाउमा आयोजना भएको एशियाडमा नेपाललाई बक्सिङमा एक मात्र कांस्यपदक दिलाएका थिए।

मन्त्रालयका अनुसार राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार सुष्मालाई ६ लाख नगद पुरस्कार प्रदान गरिएको हो। 

यस्तै, सुष्माका प्रशिक्षक महर्जनले एक लाख आठ हजार र सहायक प्रशिक्षक सन्दीप श्रेष्ठले ७२ हजार रुपैयाँ प्राप्त गरेका छन्।

च्याम्पियनसिपमा कांस्य जितेका हेमा राई, त्रिशा जबेगु र विजय बाटाले समान तीन लाख प्राप्त गरेका छन्।