सरकारलाई विश्वप्रकाशको प्रश्न– नेपाली फर्काउन रुससँग वार्ता गर्न सक्ने क्षमता छ कि छैन?

कांग्रेस सांसद विश्वप्रकाश शर्माले रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई फर्काउने मामिलामा सरकारले कूटनीतिक क्षमता देखाउन नसकेको टिप्पणी गरेका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउन नेपालले गम्भीर कूटनैतिक पहल र संवाद गर्नुपर्ने बताएका छन्। 

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद शर्माले रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई फर्काउन सरकारले कूटनीतिक क्षमता देखाउन नसकेको बताएका हुन्।

सरकारले हालसम्म नेपालस्थित रुसी राजदूतलाई बोलाएर संवाद गर्नुबाहेकको पहल गर्न नसकेको उनको भनाइ थियो। उनले सरकारको कूटनैतिक पहल र क्षमता रसियासँग संवाद गर्न सक्ने स्तरमा छ कि छैन? भन्ने प्रश्नसमेत गरे।

रुसी सेनामा भर्ती भएका नेपालीको यकिन तथ्यांक सरकारसँग नरहेको बताएका उनले भने, “सरकार छ भन्ने महसुस गराउन सरकारले रसियामा गएर सैनिक भई बसेका नेपालीको उद्धार गर्ने कुरामा गम्भीरतापूर्वक लिनुपर्छ।”

उनले ६ फेब्रुअरीको साँझ एयर अरेबियाको जहाजबाट नेपाल आउन लागेका सुरेन तामाङ, सजन लोप्चन तामाङ र मदन कुमाललाई मस्कोस्थित विमानस्थलबाट पक्राउ गरी रुसी सेनाको कब्जामा रहेको विषयमा सरकार जानकार छ कि छैन? भन्दै प्रश्न पनि गरे।

“उनीहरू सम्पर्कमै आएकै साँझ विमानस्थल पुर्‍याउँदा पक्राउ परे। उनीहरू अहिले रसियन सैनिकको गिरफ्तारीमा छन्। उनीहरूको अवस्था के छ? नेपाल सरकारलाई जानकारी छ कि छैन। उनीहरूलाई उद्धार गर्ने सम्भावना के छ?” उनले भने। 

यो पनि : रुसी सेनाबाट भागेर घर फर्किँदै गर्दा ३ नेपाली मस्को विमानस्थलबाटै ‘पक्राउ’