धोनीले किन रोजेका थिए ७ नम्बर जर्सी?

बीसीसीआईले सन् २०२३ मै ७ नम्बर जर्सी रिटायर्ड गरिसकेको छ। कुनै पनि खेलाडीले ७ नम्बरको जर्सी रोज्न पाउँदैनन्।

टी२० सुपरस्टार भए पनि वेस्ट इन्डिजका ब्याटर क्रिस गेलले जर्सी नम्बर ३३३ लगाए। जुन उनको टेस्टमा उच्चतम स्कोर थियो। इन्डियन प्रिमियर लिग (आईपीएल)को समयमा श्रीलंकाली स्पिनर मुथैया मुरलीधरनले जर्सी नम्बर ८०० लगाए। जुन उनको टेस्ट विकेटको रेकर्ड संख्या थियो।

यी दुई उदाहरण थिए जहाँ दुई प्रतिष्ठित क्रिकेटरहरूले आफ्नो करिअरका दौरान जर्सी नम्बर परिवर्तन गरे। तर, भारतीय विकेटकिपर तथा ब्याट्सम्यान महेन्द्रसिंह धोनीले ७ नम्बर रोजे र त्यही नम्बरमा करिअर अन्त्य गरे। धोनीले किन ७ नम्बर रोजेका थिए त?

विश्वकपविजेता पूर्वकप्तान धोनीले आफ्नो निर्णयका पछाडि कुनै ठूलो कारण नभएको बताएका छन्। “म जुलाई ७ मा जन्मेको हुँ। जुलाई सातौँ महिना हो। वर्ष ८१ थियो। ८-१=७। त्यसैले यो नम्बर छनोट गर्न मलाई निकै सजिलो भयो,” उनले भने।

धोनीको कप्तानीमा भारतीय टोलीले २००७ मा टी२० विश्वकप जितेको थियो। सन् २०११ मा भारतले ओडीआई विश्वकप पनि जित्यो। सन् २०१३ उनैको कप्तानीमा भारतले च्याम्पियन्स ट्रफी जितेको थियो।

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले सन् २०२३ मा ७ नम्बर जर्सी रिटायर्ड गरिसकेको छ। बीसीसीआईले यसअघि सचिन तेन्दुलकरको आइकोनिक नम्बर १० जर्सी पनि रिटायर्ड गरेको थियो। अब सिनियर पुरुष क्रिकेट टोलीका कुनै पनि खेलाडीले ७ या १० नम्बरको जर्सी रोज्न पाउने छैनन्।