हजुरबुबाले पाखोबारी जोडे। बुबाले लालपुर्जा लिन लडे र बेचबिखन गरेर सुगममा सन्तानको सुखका लागि बसाइँ सारे। नातिले यतिले नपुगेर बिदेसिनु परेको छ।
फेसबुक मेसेन्जरमा एक प्रतिष्ठित मिडियामा काम गर्ने पत्रकारलाई 'हाइ हेलो' गरेँ। काठमाडौँ हुँदा संगठनका कार्यक्रममा पनि यदाकदा भेटिने पत्रकार हुन् उनी। काठमाडौँ छाडेको आधा दशक हुन लाग्यो, तरै पनि हेटौँडा बस्नेका लागि आडैको गाउँ हो काठमाडौँ। मैले उनलाई ‘पहिले कार्यरत मिडियामै नै हो?‘ भनेर सोधेँ।
सायद त्यो दिन मंगलबार थियो, तर उनले फर्काएको पीडायुक्त जवाफले बिहान 'मंगलमय' रहन सकेन। दिमागमा एकाएक गाउँकै मनहरि खोलाका साउने भेलमा देखिने अग्ला भँगालो र जुरो उम्रिए। त्यसअघि आइतबार साँझतिर कुनै महिला पत्रकारले फेसबुकमै लेखेको सम्झिएँ, ‘आमा बनेकै कारण पत्रकार महिलासँग राजीनामा मागिएछ, आमा हुनु भनेको निराशा होइन, हौसला हो। सन्तान प्राप्तिमा आमाले जागिर गुमाउनुपर्ने कस्तो पेसा?‘
हामी पत्रकारका नेता भइटोपलेकाहरूले पनि समाधान गर्न नसक्ने विषय बन्छ यो। किनभने अक्सर भेटिएका र संगतका पत्रकार आफू कार्यरत कम्पनीको मालिकबाहेक बाँकी सबैलाई झपार्न सक्ने हैसियत राख्छन्। सहकारीको १६ अर्ब रकम ठगी प्रकरणमा फरार भएपछि ग्यालेक्सी फोरकेका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई पनि रवि लामिछानेले गाली गर्न सकेका छैनन्। ग्यालेक्सी टिभीले रविले पैसा पनि लगेको भनेर कागजात देखाइदिँदा पनि उनी भनिरहेका छन्, ‘सरकारले जीबी राई पक्रन नै चाहेन।‘ उनीजस्ता हिम्मतिला भूतपूर्व पत्रकारले पनि मालिकलाई प्रश्न गरेनन्। बरु सहकारी पीडितलाई राज्यले पैसा दिनुपर्छ पो भन्न भ्याए। अहिले पोखराको सूर्यदर्शन सहकारीको पैसा हिनामिना मुद्दामा पीडितहरूले 'पूरक निवेदन' दिएका छन्।
‘हेर्नुहोस् न मिडियाले मेरो राजीनामा मागेको छ, बच्चा भएपछि उसले राजीनामा मागेको हो,‘ उनले उत्तर फर्काइन्। चर्चित उक्त मिडियाले देशभरका तलबी पत्रकारलाई समाचारका आधारमा पारिश्रमिक दिने गरी ‘स्ट्रिंजर’ राख्ने प्रस्ताव कार्यान्वयन गरेको सुन्नमा आएको छ। कुनै बेला सो मिडियामा जागिर हुनु चानचुने विषय हुन्थेन। हामी बेलाबेला मजाक पनि गर्थ्यौं– फलानो मिडियामा काम गर्नेको फूर्तिफार्ती त सहायक सिडिओको भन्दा कम हुँदैन। तर सोही मिडियामा जवानी सकाएकाहरू अहिले आन्दोलित छन्। मैले ठहर गरेँ- मसँग मेसेन्जरमा अहिले कुरा गरिरहेकै पत्रकारको विषय रहेछ फेसबुकमा उठेको विषय।
वर्षौंदेखि काम गरिरहेका पत्रकारको बढुवा हुनुपर्नेमा घटुवा गर्ने भनियो भने त्यो न्यायोचित हो? अहिलेसम्मको कम्पनीप्रतिको लगाव, मिहिनेत, श्रम, पसिना के मासिक तलबको सामान्य स्केल मात्रै हुनसक्छ? त्यस्ता कर्मचारी निकाल्ने या तिनको राजीनामा माग्ने आधार के?
उसै पनि पछिल्लो १० वर्ष नेपालीको जनसंख्या वृद्धि रोकिएकै दशक भएको छ। मधेश आन्दोलन, नाकाबन्दी, भूकम्प, कोरोनाको लकडाउन, डेंगुको आक्रमण र आर्थिक क्षय परिपूरणका लागि 'लाठे'जति विदेशमा जाने लहरका कारण देशको जनसंख्या मात्रै घटेको छैन, आर्थिक समस्यामा मुलुक छिरेको छ। अरू देशमा एउटा पुस्ता लड्दा पनि यी समस्या समाधान हुँदा हुन्, तीन पुस्ता लड्दा पनि हाम्रामा भने समस्या ज्युँका त्युँ छन्।
हजुरबुबाले पाखोबारी जोडे। बुबाले लालपुर्जा लिन लडे र बेचबिखन गरेर सुगममा सन्तानको सुखका लागि बसाइँ सारे। नातिले यतिले नपुगेर बिदेसिनु परेको छ। पनाति र पनातिनीले त पढ्नै बिदेसिन्छु भन्न थालेपछि नेपाल ढुंगामाटाको थुप्रोमा सीमित हुँदैछ। यस्तो अवस्थामा पत्रकारिताले देशमै सम्भावना र समृद्धिका बहस सिर्जना गर्नुपर्ने हो। तर त्यही मिडियामै भविष्य खोजेर दिनरात खटिनेहरू पनि खिन्न हुनुपर्ने माहौल छ।
यतिखेर बलिया जति बिदेसिनु पर्ने बाध्यता छ। श्रमको मूल्य सस्तो भएकाले मात्रै नेपालीहरू बाहिरिनुपरेको हो। श्रम बजारमा क्षमताअनुसार अवसर सिर्जनामा दल र राज्य चुकेकाले पनि यो अवस्था सिर्जना भएको हो। खुला सीमाका कारण भारतीय बजारको सस्तो उत्पादनसँग आफ्नै मुलुकका उत्पादन आफ्नै बजारमा प्रतिस्पर्धा गर्न नसकी पलायन भएका छन्। नेताका नातेदार र व्यावसायिक साझेदारको स्वार्थमा अर्थनीति र बजेट बन्ने देशमा यसो हुनु स्वाभाविक हो। आमा बन्नेबित्तिकै आफ्नो जागिरबाट हात धुनुपर्ने बाध्यता पनि उति अस्वाभाविक होइन।
पहिले कुनै टिभीमा राम्रो अनुभव भएकी एक सहकर्मी अर्को टिभीमा पुगेकी थिइन्। तर टेलिभिजन प्रमुख र स्टेसन प्रमुखको दिमागमा 'पुरानोभन्दा पनि नयाँ अनुहार' देखाउने हुटहुटी रहेछ। 'पुराना अनुहार स्क्रिनमा बिक्दैन' भन्दै बहानाबाजी गरेछन्। स्क्रिनमै आउन फेरि १६ वर्षे किशोरी बन्न सम्भव पनि थिएन। ‘कन्टेन्ट’ बेच्ने कि ‘क्यारेक्टर’ भन्ने बहसमा 'प्रगतिशील विचार' बोक्ने भनिएका मिडिया प्रमुख र समाचार प्रमुखले समेत कलिला क्यारेक्टर खोज्न थालेपछि अरू के भन्नु? तर सो स्टेसनको रहर पनि लामो रहेन।
सबैलाई अलिपछिको चेक थमाएर कर्मचारीहरू नै बिदा दिइयो। चेक नसाटिएको सुनेको छु। दुःखको कुरा, मिडिया चल्न क्यारेक्टरभन्दा पनि कन्टेन्ट चाहिन्छ भन्नेमा हाम्रोमा बहस भएको छैन। टेलिभिजनमा समाचार वाचन गर्नेदेखि समाचारमा देखाइने पात्रसमेत खास खास भएपछि मिडिया चल्ने कुरा साँच्चै चुनौतीपूर्ण हो। त्यसो भएपछि मूलधारका भनिने मिडिया 'युट्युबर, टिकटकर'भन्दा धेरै फरक हुनेमा शंका रहेन।
कोरोनाकालमा हेटौँडाका केही एनजीओले महिला कर्मचारीलाई जागिरबाट निकालेका थिए। 'आमा हुने' खबरपछि 'रिस्क नमोल्ने' भन्दै रोजगारीबाट निकालिँदा उनीहरू मानसिक रूपमा कमजोर भएको खबर महिला पत्रकारकै ‘बाइ लाइन’मा छापिएको थियो। रोजगारी भएपछि आमा हुने रहर गर्नु महिलाको अपराध होइन। कुनै भवितव्य परेर लोग्ने नै बिते पनि आफ्नो कमाइले सन्तान पाल्न सक्छु भन्ने आत्मविश्वास जगाउँछ बरु रोजगारीले। तर ‘आमा भएपछि महिलाले अफिसमा समय दिन सक्दिनन्’ भन्ने अपमानजनक सोच प्रतिष्ठित मिडियामा समेत छिरेको पाइयो।
उनले मेसेन्जरमा भनिन्, ‘मैले प्रेस काउन्सिलमा यसबारे उजुरी हालेको छु।’
एउटा पत्रकार आमा बन्दा जागिरबाट हात धुनुपरेको अवस्थामा उनको मानसिक तनाव कसरी सम्बोधन हुनसक्छ? अरूको समाचार बनाइदिने पत्रकारको पीडाचाहिँ कहाँ पोख्ने? उनले भनिन्, ‘मेरो नामचाहिँ कतै नखुलाइदिनुहोला। महिला भएर लड्न कति गाह्रो छ, तपाईंलाई थाहै होला।‘ कठै मेरो देशका पत्रकारिता। कुन दास युगीन अभ्यासमा छौँ हामी?
पत्रकारिता गरिरहेको व्यक्ति आमा हुनेबित्तिकै जागिरबाट निकालिँदासमेत हाम्रा धेरै मिडिया मौन छन्। २०४६ पछि विकसित भएको नेपाली मिडिया स्वयं '८० दशक कालिन' पीडामा कलम चलाउन सक्दैनन्, जबकि तिनै मिडिया सरकार ढाल्ने र बनाउने 'ठूला कुरा' गर्छन्। 'गुन्डा मन्त्री भए' भनेर लेख्छन्। तर मिडिया हाउसमा जीवनका उर्वर समय बिताएर, अब पनि काम गरेरै महिनावारी तलबले सन्तानको शिक्षादीक्षामा ध्यान दिन्छु भन्दा आमा बनेकै कारण जागिरबाट राजीनामा मागिन्छ।
पत्रकारिताको मसिहा ठान्ने मिडिया घरानाले आमा पत्रकारको संरक्षण गर्न सक्दैन भने त्यस्तो मिडियाले देशको परिवर्तनको हिस्साको दाबी कसरी गर्नु? जबकि मिडियाको विज्ञापन बजार खुम्चिँदै जानुमा पत्रकारको केही दोष छैन। उसको आर्थिक हैसियत कमजोर बनाउन पत्रकारले आजसम्म केही गरेकै छैनन्। अर्को कुरा, साँच्चै हुलिया खोजेर पत्रकारले लेखेका दिन त हाम्रा धेरै मिडिया सञ्चालक/चालक ‘भ्याकुर खेदाइ’मा पर्ने डर छ। विवेकमा नभएर आवेगमा यतिखेर रवि लामिछानेले खेदो गर्दा मात्रै ढंग नपुगेको हो। पत्रकारको काम दलाली गर्नु होइन भने मिडिया सञ्चालकको काम पहिले आफ्ना पत्रकार र श्रमिकको सेवासुविधा ग्यारेन्टी गर्नु हो। पत्रकारलाई विज्ञापन खोज्न पठाउन बन्द गर्नु हो।
तर यहाँ त मिडियाहरू 'दलका दलाल'हरूलाई सहजै तर्साउँछन्, तर पत्रकार आमा बन्दा मिडिया सम्पादक/प्रबन्धक वा प्रतिनिधि ‘बधाई’ दिन पुग्ने सामान्य औपचारिकतासमेत निर्वाह गर्दैनन्। सामन्तवाद र सामन्तीविरुद्ध कुरा गर्दागर्दै नयाँ शक्तिहरू नवसामन्तीमा करार भएझैँ दासयुगका विरोध गर्दागर्दै मालिकहरू नयाँ दासयुगका संरक्षक भयझैँ देखिन्छ। यस्ता परम्परा र थितिका मिडियाबाट न महिलाका पक्षमा वकालत हुनेछ, न गरिब जनताको पक्षमा।
अधिकारको लडाइँमा जनता जागरूक बनाउने सेवामूलक पेसा/व्यवसाय हो मिडिया। जुन देशमा पत्रकारले विज्ञापन खोज्नुपर्ने बाध्यता आउँछ, त्यहाँ 'सुशासनको सूचकांकमा नेपाल माथि आउन सकेन' भनेर लेखिरहनु पीडादायक हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
