भ्रष्टाचार आरोप लागेका सचिव मरासिनी साधारण तारेखमा रिहा

अख्तियारले बहालवाला सचिव मरासिनीसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

काठमाडौँ– नेसनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका सरकारका सचिव मधु मरासिनी साधारण तारेखमा रिहा भएका छन्। 

विशेष अदालतमा चलिरहेको थुनछेक बहसमा आइतबार सचिव मरासिनी हाजिर भएका थिए। बहसपछि विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश गरेको प्रवक्ता उपरजिस्ट्रार धनबहादुर कार्कीले जानकारी दिए। 

मरासिनीका तर्फबाट कानून व्यवसायीहरू रमनकुमार श्रेष्ठ, कृष्णप्रसाद सापकोटा, ललित बस्नेतलगायतले बहस गरेका गरेका थिए। 

अख्तियारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका बहालवाला सचिव मरासिनीसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। नौ जनामध्ये आइतबारसम्म सचिव मरासिनीसहित चार जना हाजिर भइसकेका छन्। बाँकी पाँच जना हाजिर हुन बाँकी रहेका छन्। यसअघि हाजिर भएका तीन जना पनि धरौटीमा रिहा भइसकेका छन्। 

अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख रहेका बेला मरासिनीले नियमित प्रक्रिया मिचेर नेसनल पेमेन्ट गेटवे प्रणालीका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको भन्दै अख्तियारले मुद्दा चलाएको थियो।