एन्फा कार्यसमिति बैठकमा ११ अजेन्डा थप्न केन्द्रीय सदस्य चन्दको माग

एन्फाका केन्द्रीय सदस्य रवीन्द्र चन्द ठकुरीले फागुन ३ गते बस्ने कार्यसमिति बैठकमा थप ११ अजेन्डामा छलफल गर्न माग गर्दै पत्र पठाएका छन्।

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य रवीन्द्र चन्द ठकुरी (रविन)ले फागुन ३ गते बस्ने कार्यसमिति बैठकमा थप ११ अजेन्डामा छलफल गर्न माग गर्दै पत्र पठाएका छन्। चन्दले आइतबार मेलमार्फत माघ २५ गतेको कार्यसमिति बैठक सम्बन्धमा आएको पत्रमा समावेश गरिएको अजेन्डामा केही महत्त्वपूर्ण कुराहरू छुटेको भन्दै पत्र पठाएका हुन्।

उनले पठाएको पत्रमा कर्णाली प्रदेश फुटबल संघको निर्वाचन अधिवेशन, सचिवालय सदस्य, कर्मचारीको कार्य विभाजन तथा जिम्मेवारी, महिला राष्ट्रिय फुटबल तथा जिल्ला लिग, विशेष साधारणसभाहरूमा भएको खर्च विवरणलाई छलफलमा समेट्न माग गरिएको छ।

यस्तै, सचिवलय सदस्यको हालसम्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण विवरण, एन्फाअन्तर्गतका टेक्निकल सेन्टरको वर्तमान, आर्थिक तथा व्यवस्थापकीय अवस्था, न्यायिक समितिमा परेका निवेदन, एन्फाले प्राप्त गर्नुपर्ने पेस्की तथा सामग्री फर्स्योट र कार्यसमिति बैठकमा भएका निर्णयहरू र सोको कार्यान्वयन, आर्थिक वर्ष ८०/८१ को ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग, एन्फाको स्थायी समितिको निर्णय तथा सोको हालसम्म गरेको कार्यान्वयनसम्बन्धी विषयलाई अजेन्डामा समावेश गर्न माग गरेका छन्।

एन्फा कार्यसमिति बैठक फागुन ३ गते बिहीबार बस्दै छ। बैठक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान ८ बजेबाट शुरू हुने छ। विभिन्न १० अजेन्डामा छलफल हुँदैछ। संघको नियमित साधारणसभाको बजेट र आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम तथा बजेटबारे छलफल हुने छ। 

यस्तै, २०२४ को तालिका (क्यालेन्डर), नियमित साधारणसभामा संघको आर्थिक नियमावली र कार्यविधि संशोधन, सदस्यता प्रवेश (स्वीकृति दिने), विधानको धारा (३१) को (२) अनुसार विषयसूची, खेल सामग्रीको बोलपत्र स्वीकृति, ग्रास रुट फन्डिंग नियमावली तथा एन्फा ग्रास रुट डे, आपातकालीन समितिले गरेको निर्णय अनुमोदन गर्ने र विविध अजेन्डामा छलफल हुने महासचिव किरण राईले पठाएको पत्रमा उल्लेख छ।