नेपाल र कतारबीचको श्रम सम्झौतामा परिमार्जन तथा साउदीसँग नयाँ सम्झौता हुने

यूएईमा भएको आबुधाबी डायलगको अवसरमा श्रम मन्त्री शरतसिंह भण्डारी नेतृत्वको टोलीले साउदी र कतारका समकक्षीसँग गरेको छुुट्टाछुट्टै छलफलमा यस्तो प्रस्ताव गरिएको हो।

काठमाडाैँ– नेपालले साउदी अरबसँग एक महिनाभित्रै श्रम सम्झौतालाई अन्तिम रूप दिने प्रस्ताव गरेको छ। यस्तै कतारसँग भएको श्रम सम्झौतामा पनि केही परिमार्जन हुने भएको छ। 

यूएईमा भएको आबुधाबी डायलगको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी नेतृत्वको टोलीले साउदी र कतारका समकक्षीसँग गरेको छुुट्टाछुट्टै छलफलमा यस्तो प्रस्ताव गरिएको हो।

नेपाल र कतारबीच सन् २००३ मा भएको श्रम सम्झौतालाई परिमार्जन गर्न लागिएको हो। दुई महिनापछि कतारका अमिरको नेपाल भ्रमणको समयमा हस्ताक्षर हुने गरी अनलाइन बैठकमार्फत छिट्टै टुंग्याउने निर्णय भएको छ। उक्त सम्झौतामा सीप साझेदारी र श्रमिकको हक हित सुरक्षाका विषयवस्तु थप गर्ने उल्लेख छ।

यसैगरी साउदी अरबसँग १ महिनाभित्र श्रम सम्झौता गर्ने भनिएको छ। भएको साइडलाइन बैठकमा न्यायोचित भर्ना प्रणाली, सामाजिक सुरक्षा, कार्य घण्टा, बीमा, पेसागत स्वास्थ्य सुरक्षा लगायतका विषयलाई सम्बोधन गरेर नयाँ श्रम सम्झौता गर्ने सहमति भएको छ। साउदीले सीपमूलक जनशक्ति उत्पादनका निम्ति तालिम केन्द्र स्थापना गर्न अहिले भैरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यस्तै, त्यहाँको कफला प्रणाली सुधार गरी विभिन्न कारणले मृत्यु भएका श्रमिकको शव छिटो नेपाल ल्याउन सक्ने गरी सहजीकरण गर्ने र सप्लाइ कम्पनीमा गएर काम नपाउने अवस्थालाई निरुत्साहित गर्ने सम्झौता भएको छ।

श्रममन्त्री भण्डारीले दक्ष जनशक्ति उत्पादनका लागि लगानी गर्न खाडीसहितका गन्तव्य देशलाई आग्रह गरेका छन्। आबुधाबी डाइलगलाई सम्बोधन गर्दै उनले श्रमिक तथा उनीहरुको परिवारलाई बलियो सामाजिक सुरक्षाको माध्यमबाट संरक्षण गर्नु गन्तव्य र श्रोत राष्ट्रको समान दायित्व रहेको बताए। उनले श्रमिकहरूको न्यूनतम ज्यालाको प्रत्याभूति दिनेतर्फ आबुधाबी डाइलगले प्रतिवद्धता जनाउनुपर्ने धारणा पनि राखे।

शनिबारदेखि शुरू भएको अबुधाबी डायलगमा कामदार पठाउने र लिने २१ देशका श्रममन्त्री र उच्च सरकारी अधिकारीहरुको सहभागिता रहेको छ।