कुरान वाचन तथा स्मरण प्रतियोगिता सम्पन्न

साउदी दूतावासको सहयोगमा मुस्लिम आयोगले आयोजना गरेको  उक्त प्रतियोगितामा देशभरिबाट झन्डै साढे दुई सय मुस्लिम छात्रछात्राहरूले भाग लिएका थिए।

काठमाण्डाैँ– नेपालमा पहिलो पटक राष्ट्रिय स्तरमा कुरान वाचन तथा स्मरण  प्रतियोगिता सम्पन्न भएको छ।

साउदी दूतावासको सहयोगमा मुस्लिम आयोगले आयोजना गरेको  उक्त प्रतियोगितामा देशभरिबाट झन्डै साढे दुई सय मुस्लिम छात्रछात्राहरूले भाग लिएका थिए। दुई दिनसम्म चलेको प्रतियोगितामा विद्यार्थी (तालिवा)हरूलाई उमेरको आधारमा विभिन्न चार वटा उमेर समूहमा विभाजन गरी कुरान शरीफको वाचन गर्न लगाएका थिए। मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी र नेपालस्थित साउदी राजदूत साद नासिर अब्दुलाहले संयुक्तरूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।

आयोगका अध्यक्ष अन्सारीले यस्ता कार्यक्रमले मदरसामा पढ्ने छात्रछात्राहरूलाई कुरान शरिफको अध्यनप्रति रुचि बढ्ने, कुरानका वाक्यहरू सहि तरिकाले उच्चारण गर्ने तथा कुरानको वास्तविक सन्देश सर्वसाधारणसम्म प्रवाह गर्न मद्दत पुग्ने बताए।

आयोगले नेपाली मुस्लिम समुदायको संरक्षण, प्रवर्द्धन तथा उत्थानको लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै अध्यक्ष अन्सारीले यस्ता कार्यक्रम सहयोग गरेकोमा साउदी सरकारलाई समेत धन्यवाद दिए।

कार्यक्रममा नेपालस्थित साउदी राजदूत साद नासिर अब्दुलाहले यस्ता कार्यक्रमले मुस्लिम छात्रछात्राहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्ने बताए। यस्तो कार्यक्रममा सहयोग गरेकोमा साउदी सरकार, नेपाल सरकार र मुस्लिम आयोगलाई उनले धन्यवादसमेत दिए। यस्ता कार्यक्रमले दुई देशको सम्बन्ध प्रगाढ हुने उनको भनाई थियो।

प्रतियोगितामा राष्ट्रियसभा सदस्य मौलना खालिद सिद्दिकी, आयोगका सदस्यहरू मिर्जा अर्शद बेग, समसुल हक, महमदीन अली,आयोगका सचिव चण्डिप्रसाद घिमिरे, भारतको दिल्लीस्थित साउदी दूतावासका उप प्रमुख बदर नासिर अल्नाजी, मौलाना अब्दुल कयूम, मौलाना नजरुल हसन फलाही, डाक्टर अब्दुल गनि अल्काफीसहितको सहभागिता रहेको थियो।

आयोगका सदस्य तथा प्रवक्ता मिर्जाले विभिन्न उमेर समूहमा प्रथम, दोस्रो तथा तेस्रो हुने १७ जना छात्रछात्रहरूलाई केही दिनमै पुस्कृत गर्ने कार्यक्रम रहेको बताए।