सरकारी तथ्यांक भन्छ– नेपालमा अझै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

प्रदेशगत रूपमा सबैभन्दा कम गरिबीमा गण्डकी रहेको छ भने सबैभन्दा बढी गरिबी सुदूरपश्चिममा रहेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता रेग्मीले बताए।

काठमाडौँ– नेपालको कुल जनसंख्याको २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार काठमाडौँमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०) नेपालमा अझै पनि २०.२७ प्रतिशत मानिसहरू गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको हो। 

करिब १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा सो तथ्यांक सार्वजनिक गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताए। उनका अनुसार मानिसहरूको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरू अझै पनि २० प्रतिशतभन्दा बढी रहेको पाइएको हो।

प्रदेशगत रूपमा सबैभन्दा कम गरिबी गण्डकीमा रहेको छ भने सबैभन्दा बढी गरिबी सुदूरपश्चिममा रहेको कार्यालयका प्रवक्ता रेग्मीले बताए। सुदूरपश्चिममा अहिले पनि त्यस प्रदेशको जनसंख्याको करिब ३४ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ।

“प्रदेशगत रूपमा फेरि गरिबीको रेखाभित्र पनि विभेद छ भन्ने देखिन्छ। सबैभन्दा कम गरिबी गण्डकी प्रदेशमा देखिएको छ। बागमती सँगसँगै छ। त्यसपछि कोशी प्रदेशमा छ। सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा देखिएको छ। यो सात वटा प्रदेशको हामीले तुलना गर्‍यौँ भने लुम्बिनी र कर्णाली पनि पछाडि पछाडि छन्। मधेश र लुम्बिनीको उस्तैउस्तै छ। कर्णालीमा सुधार भएको देखिएको छ,” उनले भने।