पाखो जग्गा बन्यो कागती बगैँचा

पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरूप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट छ लाख रुपैयाँ कमाइ गर्‍यो।

बागलुङ– भिरालो पाखो जमिन। चारैतिर झाडीले घेरिएको। जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन्। पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरूप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट छ लाख रुपैयाँ कमाइ गर्‍यो।

बाँझो जग्गामा कागतीको सम्भावना देखेका बागलुङको गलकोट–११ रिघाका ३५ वर्षीय दानबहादुर श्रीषले चार वर्षअघि लगाएका १ हजार २०० बिरुवाबाट पहिलो पटक उत्पादित  कागती काठमाडौँ र पोखरा निर्यात भइसकेको छ। श्रीसले कागतीखेती गर्ने उद्देश्यले उक्त जग्गा खरिद गरेका थिए। झाडीले घेरिएको त्यही बाँझो जग्गामा अहिले लटरम्म कागती फलेका छन्। गाउँको बाँझो रहेको जमिन खरिद गरेर २०७६ साउनमा कागतीका बिरुवा लगाएका श्रीषले पहिलो पटक ६ लाखको कागती बिक्री गरेको बताए।

बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी ३६ रोपनी जग्गामा व्यावसायिक कागतीखेती गरेका हुन्। “कागतीको सम्भावना देखेपछि ३६ रोपनी जग्गामा कागतीखेती थालेको २०७६ सालमा हो, पाँच वर्ष पूरा हुँदा कागती फल्यो, पहिलो वर्ष नै छ हजार किलो कागती उत्पादन भएको थियो, थोक मूल्य एक सय रुपैयाँ प्रतिकिलोका दरले कागती बिक्री गरेँ,” उनले भने, “खाली र झाडी बन्दै गएको जमिनमा कागतीखेतीसहित बाख्रापालनको उद्देश्य थियो, बाख्रापालन छाडेँ, अब कागतीबाट राम्रो सम्भावना देखेको छु।”

जग्गा खरिद, व्यवस्थापन, बिरुवा खरिदसँगै हालसम्म ३० लाख रुपैयाँ लगानी गरिसकेको श्रीष बताउँछन्। तीव्र बसाइँसराइँका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिकरूपमा कृषिउद्यम गर्ने सोचमा पुगेपछि कृषि तथा पशु फर्म दर्ता गरेर आफू कागतीखेतीमा आकर्षित भएको उनी बताउँछन्। गलकोटसहित छिमेकी बजारको कागती आयात प्रतिस्थापन गर्नका लागि कागतीखेतीमा लागेको उनको भनाइ छ।

बजारमा भारतबाट आयात गरिएको कागती देखेपछि कागतीखेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोपेका थिए। अहिले कागती बगैँचा हराभरा भएको छ। हजुरबुवा भीमबहादुर श्रीषको प्रेरणाले स्वदेशमै केही गर्ने सोच पलाएको युवा कृषक श्रीष बताउँछन्।

“युवाहरू उत्पादनसँग नजोडिने हो भने विदेश पलायनको विकल्प नहुने अवस्था अहिले विद्यमान छ, कागती खेतीलाई सय रोपनीभन्दा बढी जग्गामा विस्तार गर्ने योजनामा छु,” उनी भन्छन्, “सरकारी तहले युवा किसानलाई प्रेरित गर्न आवश्यक छ, सामान्य अनुदानका कार्यक्रमले मात्रै ठूलो फार्मलाई राहत हुँदैन।”

नगरपालिकामा व्यावसायिकरूपमा कागती खेतीको राम्रो सम्भावना भएकाले नगरपालिकाले कागतीका बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको गलकोट–११ का वडाध्यक्ष श्रीषको भनाइ छ। समुद्री सतहबाट १ हजार ३०० मिटरसम्म कागतीखेतीको राम्रो सम्भावना भएका कारण नगरपालिकाले कागतीखेतीमा अनुदान दिँदै आएको पाइएको छ।

गलकोटमा पछिल्लो समय कागतीखेती फस्टाउन थालेको छ। गलकोटका एक दर्जनभन्दा बढी किसान अहिले कागतीखेतीमा आकर्षित भएका छन्।