युद्धका कारण रुसको वैदेशिक व्यापारमा तीव्र गिरावट

युक्रेनविरुद्धको सैन्य आक्रमणलाई लिएर मस्कोमाथि आर्थिक दबाब सिर्जना गर्न ईयूका देशहरूले रुसबाट हुने अधिकांश ऊर्जा खरिद रोकेका छन्।

रुसको वैदेशिक व्यापार बचत सन् २०२३ मा वार्षिक ५८.५ प्रतिशतले घटेर १४० अर्ब अमेरिकी डलर पुगेको छ।

सोमबार सार्वजनिक गरिएको रुसको संघीय भन्सार सेवाको तथ्यांकले देशको कुल निर्यात २८.३ प्रतिशतले घटेर ४२५.१ अर्ब डलर पुगेको देखाएको छ भने आयात ११.७ प्रतिशतले बढेर २८५.१ अर्ब डलर पुगेको छ। गत वर्ष रुसको युरोपेली देशहरूमा निर्यात ६८ प्रतिशतले घटेर ८४.९ अर्ब डलरमा पुगेको थियो भने आयात १२.३ प्रतिशतले घटेर ७८.५ अर्ब डलरमा झरेको थियो।

यसैबीच एशियाली देशहरूमा रुसी निर्यात ५.६ प्रतिशतले बढेर ३०६.६ अर्ब डलर पुगेको छ भने आयात २९.२ प्रतिशतले बढेर १८७.५ अर्ब डलर पुगेको छ। तथ्यांकले अफ्रिकी देशहरूसँगको व्यापारमा वृद्धि भएको देखाएको छ, निर्यात ४२.९ प्रतिशत र आयात ८.६ प्रतिशतले बढेको छ।

युरोपतर्फ हुने रुसी निर्यातमा दुई तिहाइले कमी
युरोपेली संघ (ईयू)ले रुसी तेल तथा ग्यासको खरिदमा भारी कटौती गरेपछि सन् २०२३ मा युरोपमा हुने रुसी निर्यातमा दुई तिहाइभन्दा बढीले गिरावट आएको रुसको भन्सार कार्यालयले जनाएको छ।

युक्रेनविरुद्धको सैन्य आक्रमणलाई लिएर मस्कोमाथि आर्थिक दबाब सिर्जना गर्न ईयूका देशहरूले रुसबाट हुने अधिकांश ऊर्जा खरिद रोकेका छन्। सन् २०२३ मा युरोपमा हुने रुसी निर्यात ६८ प्रतिशतले घटेर ८४.९ अर्ब डलरमा झरेको रुसको संघीय भन्सार कार्यालयलाई उद्धृत गर्दै रुसी समाचार संस्था इन्टरफ्याक्सले जनाएको छ।

युरोपलाई देशको मुख्य ऊर्जा ग्राहकको रूपमा प्रतिस्थापन गरेको एसियामा निर्यात ५.६ प्रतिशतले वृद्धि भई ३०६.६ अर्ब डलर पुगेको रुसले जनाएको छ। पश्चिमा प्रतिबन्धहरूको मारमा परेपछि मस्कोले छुट्टाछट्टै देशहरूसँगको व्यापार तथ्यांकसहित आर्थिक तथ्यांकहरूको विशाल शृंखला प्रकाशित गर्न बन्द गरेको छ। 

बेइजिङ र मस्कोबीचको बढ्दो आर्थिक, व्यापारिक र राजनीतिक सम्बन्धकाबीच गत वर्ष दुई देशबीच दुईतर्फी व्यापार २४० अर्ब अमेरिकी डलर पुगेको चिनियाँ भन्सारसम्बन्धी छुट्टाछुट्टै तथ्यांकले देखाएका छन्।

रुसको केन्द्रीय बैंकले पनि गत हप्ता रुसी बैंक खातामा चिनियाँ युआनको होल्डिङ पहिलो पटक अमेरिकी डलरभन्दा बढी पुगेको जनाएको थियो। रुसको वित्तीय प्रणालीले डलरमा उसको पहुँचमा प्रतिबन्धको सामना गर्दै चिनियाँ मुद्रालाई अँगालेको छ।

रुसको समग्र व्यापार अधिशेष सन् २०२३ मा एक खर्ब ४० अर्बमा पुगेको छ। यो सन् २०२२ को तुलनामा ५८.५ प्रतिशत कम भएको छ। मस्कोले ऊर्जाबाट संकलन गर्ने विशाल राजस्व यसले युक्रेनविरूद्ध गरेको आक्रमणपछि युरोपेली मुलुकले लगाएको प्रतिबन्धका कारण गुमाएको छ भने यूरोपमा यसले ऊर्जाको व्यापक अभाव हुनुका साथै मूल्यवृद्धि भएको छ। 

तेल र ग्यासको मूल्य वृद्धिका कारण युरोपेली मुलुकले रुसबाट आयात गर्दै आएको ऊर्जा खरीद्लाई शून्यमा झार्ने चेतावनीबीच रुसबाट युरोपतर्फ जाने ऊर्जा बजार पूर्णरूपमा बन्द हुन सकेको छैन। 

प्रत्येक महिना अर्बौँ डलरको आम्दानी हुने ऊर्जा निर्यात रुसको बजेटको लागि राजस्वको एक महत्त्वपूर्ण स्रोत हो। इन्टरफ्याक्सका अनुसार गत वर्ष युरोपबाट रुसी आयात पनि १२.३ प्रतिशतले घटेर ७८.५ अर्ब डलरमा झरेको थियो भने एसियाबाट खरिद गरिएका सामानको मूल्य २९.२ प्रतिशतले बढेर एक खर्ब ८७ अर्ब डलर पुगेको थियो।