इन्डोनेसियामा फुटबल खेलिरहेको अवस्थामा चट्याङ पर्दा खेलाडीको मृत्यु

पश्चिम जाभा प्रान्तको सिलिवांगी रंगशालामा एक मैत्रीपूर्ण खेलका क्रममा उक्त घटना भएको हो।

इन्डोनेसियामा फुटबल प्रतियोगिताको बीचमा चट्याङ पर्दा एक खेलाडीको मृत्यु भएको छ।

डेली मेलका अनुसार पश्चिम जाभा प्रान्तको सिलिवांगी रंगशालामा उक्त घटना भएको हो। स्थानीय दुई टोली एफसी बान्डुङ र एफबीआई सुबाङबीच मैत्रीपूर्ण खेलका क्रममा चट्याङ परेको थियो।

मिडिया रिपोर्टका अनुसार यो घटना शनिबार साँझ साढे चार बजेको हो। उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा पानी परेको समयमा खेल भइरहेको र सबै खेलाडीले खेलमा ध्यान दिएको देख्न सकिन्छ। यसै क्रममा ती खेलाडीलाई चट्याङ लाग्छ।

भिडियोमा खेलाडीमा चट्याङ पर्दा आगोको ज्वाला पनि निस्किएको देख्न सकिन्छ। चट्याङ पर्ने बित्तिकै ती खेलाडी मैदानमा लड्छन्। यसपछि अन्य खेलाडी र मेडिकल टोली खेलाडीतर्फ दौडिन्छन्। तुरुन्तै स्ट्रेचर आइपुग्छ र खेलाडीलाई अस्पताल लगिन्छ।

रिपोर्टका अनुसार खेलाडीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। मृत्यु हुने खेलाडीको नाम सेपताइन रहारजा भएको समाचारमा जनाइएको छ।