सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्ने कुरा सोच्न सकिँदैनः माधवकुमार नेपाल

गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको उनको भनाइ छ।

काठमाडाैँ– सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्नेकुरा सोच्न नसकिने बताएका छन्।

सोमबार नेकपा (एकीकृत समाजवादी) मेधश प्रदेश कमिटी बैठकलाई जनकपुरधाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको उनको भनाइ छ।

शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरूको एकतालाई बलियो बनाइएको भन्दै उनले वर्तमान गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबीसमेत गरे। गठबन्धनको अहिले कुनै विकल्प नरहेको उनको जिकिर छ।

"गठबन्धनलाई कसैले ढाल्न सक्दैन। अहिले कुनै विकल्प छैन। लोकतन्त्रको पक्षपोषणहरू को हुन्? संविधानका पक्षपोषकहरू को हुन्? संघीयताका पक्षपोषक को हुन्? ती मित्र नभएर शत्रु हुन्छन्? त्यसैले अहिले हामी सहकार्य गर्दै अघि बढिरहेका छौँ। तर एउटा कुरा पक्का छ। यो गठबन्धनले नै हाम्रो पीडा पार लगाउँछ भन्ने सोच्ने होइन। यो गठबन्धन भनेको अहिलेको शक्ति सन्तुलनको आवश्यकता हो," उनले भने, "यो शक्ति सन्तुलनको आवश्यकतामा हामीसँग विचार मिल्नेहरू अहिलेको राजनीतिक यथार्थतामा सँगै जान सक्नेहरूलाई साथमा लिएर जाने हो। यस अर्थमा हामी अहिलेका जति पनि राजनीतिक दलहरू छन्, तिनीहरूमध्ये अहिले सामेल भएका दलहरूबीचमा एकतालाई बलियो बनाउन चाहिरहेका छौँ।"

अध्यक्ष नेपालले आफ्नो पार्टीले नेकपा एमालेलाई शत्रु नठानेको भन्दै आफूलाई नोक्सान पुर्‍याउन खोजेमा प्रतिवाद मात्रै गर्ने गरेको बताए।