माल्दिभ्सलाई २१४ रनले हराउँदै क्वार्टरफाइनलमा पुग्यो नेपाल

नेपालले दिएको २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १३.५ ओभरमै सबै विकेट गुमाएर जम्मा १३ रनमा समेटियो।

काठमाडाैँ– एसीसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा माल्दिभ्सलाई २१४ रनले हराएर समूह 'डी'को विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

नेपालले दिएको २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १३.५ ओभरमा सबै विकेट गुमाएर जम्मा १३ रनमा समेटियो। माल्दिभ्सका कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। माल्दिभ्सकी सुमय्या बिन्थ अहमिदले सबैभन्दा धेरै ५ रन बनाइन्। माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए।

नेपालको तर्फबाट अस्मिना कर्माचार्यले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन्। यस्तै पूजा महतो र रुबिना क्षेत्रीले ३/३ विकेट लिए। 

यसअघि क्वालालाम्पुरस्थित वाईएसडी यूकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाएको थियो। रुबिना क्षेत्रीको शतक र पूजा महतोको अर्धशतकको मद्दतले नेपालले माल्दिभ्सविरुद्ध विशाल स्कोर बनाएको थियो।

रुबिनाले ५९ बलमा १० चौका र पाँच छक्कासहित अविजित ११८ रन् बनाइन्। पुजा महतोले ३६ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै अविजित ५९ रन बनाइन्। त्यस्तै ओपनर कविता कुँवरले १३ र सीता रानामगरले १५ रनको योगदान गर्दा डोली भट्टले ६ रन बनाउँदै आउट भएकी थिइन्।