काठमाडौँ महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

फोहोरको वर्गीकरण, व्यवस्थापन र ढुवानी पूर्वतयारीमा अस्पतालको कमजोरी देखिएपछि अनुगमन टोलीले फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिएको काठमाडौँ महानगरले जनाएको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोल नेतृत्वको टोलीले मंगलबार अस्पतालमा अनुगमन गरेको थियो। सो क्रममा फोहोरको वर्गीकरण, व्यवस्थापन र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि अनुगमन टोलीले फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिएको महानगरले जनाएको छ।

उनले अरूलाई नमूना भएर देखाउनुपर्ने अस्पतालहरू आफैँले कमजोरी गरेको देखिएको बनाइन्। “अस्पतालमा फोहोर छुट्ट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो। यो गलत प्रक्रिया हो,” उपप्रमुख डंगोलले भनिन्, “रोगको उपचार गर्न आउने ठाउँ नै रोग उत्पादनस्थल बन्नु हुँदैन। यसलाई व्यवस्थापन गर्ने दायित्व महानगरपालिका एक्लैको होइन, अस्पतालहरूले आफूलाई स्वच्छ र स्वास्थ्य सेवा प्रवाह भएको प्रमाणित गराउनुपर्छ।”

महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले अस्पतालले फरक प्रकृतिको फोहोर राख्न रङ संकेतको पालना नगरेको बताए। यसबाट हानिकारक फोहोर अस्पतालबाहिर आउने खतरा देखिएपछि संकलन र ढुवानीमा रोक लगाउनुपरेको उनको भनाइ छ। “स्रोतमा फोहोर छुट्टिएको, हानिकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुनः प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको यकिन नहुन्जेल फोहोर उठाउँदैनौँ,” उनले भने।

अस्पतालले हानिकारक फोहोर निर्मलीकरण गर्नका लागि उपकरण जडान गरेको छ। यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनुपर्ने महानगरको अनुगमन टोलीले सुझाव दिएको छ।