संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाइनुहुँदैन: शेखर कोइराला

नेता कोइराला राजनीतिक मुद्दा बनाएर संक्रमणकालीन न्यायसम्बन्धी कानून बनाउँदा अन्तर्राष्ट्रियस्तरमा देशको छवि राम्रो नबन्ने बताउँछन्।

फाइल तस्वीर

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाइनु नहुने उनको तर्क थियो। उनले सर्वोच्च अदालतले दिएको आदेश, मानव अधिकार आयोगको निर्देशनलाई मध्यनजर राखेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून बनाइनुपर्नेमा जोड दिए। पीडितलाई मर्का पर्नेगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून बनाइनु नहुने उनको भनाइ थियो।

नेता कोइरालाले राजनीतिक मुद्दा बनाएर कानून बनाउँदा अन्तर्राष्ट्रियस्तरमा देशको छवि नराम्रो बन्ने जिकिर गरे। संक्रमणकालीन न्याय निरूपणका लागि कानून बनाउँदा कुनै पनि किसिमको कमीकमजोर गर्न नहुने तर्फ सचेत गराउँदै उनले भने, “यहाँ बनाउँला, संसद्ले पास गर्ला तर अन्तर्राष्ट्रिय समुदायले स्विकारेन भने हामी कतैको हुँदैनौँ। त्यसैले यो संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्छ।”

नेता कोइरालाले लोकतन्त्र नेताहरूका लागि मात्रै आएको तर जनताले महसुस गर्न नपाएको आफ्नो ठहर रहेको उनले सुनाए। “हाम्रो लागि लोकतन्त्र आएको छ, नेताहरूको लागि लोकतन्त्र आएको छ। तर जनताको, नागरिकको लागि लोकतन्त्र आएको छैन भन्ने मैले ठहर गरेको छु,” उनले भने।