लिग २ का लागि नयाँ टोली घोषणा, अनिल र देव समावेश

यसअघि घोषित टोलीबाट अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन्।

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग २ का लागि अनिल साह र देव खनाललाई समावेश गर्दै नयाँ टोली घोषणा गरेको छ।

यसअघि माघ २१ मा घोषित टोलीमा केही हेरफेर गर्दै क्यानले बुधबार नयाँ टोली घोषणा गरेको हो। पुरानो सूचीमा वैकल्पिकमा रहेका देव र अनिललाई यसपटक टोलीमा समावेश गरेको छ। क्यानडाविरुद्धको खेलमा यी दुवै खेलाडीले राम्रो प्रदर्शन गरेपछि टोलिमा ल्याइएको हो। अनिलले क्यानडाविरुद्ध शतक र अर्धशतक बनाएका थिए भने देवले एक खेलमा ब्याटिङको मौका पाउँदा अर्धशतक बनाएका थिए। 

यही फागुन ३ देखि १३ सम्म हुने लिग–२ अन्तर्गत नेपालसहित नामिबिया र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक खेल हुनेछ।

लिग–२ खेल्ने नयाँ नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङको नाम समेटिएको छ।

यसअघि घोषित टोलीबाट अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन्।