च्याम्पियन्स लिगमा सिटी र रियलको जित

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल मेड्रिड र म्यानचेस्टर सिटीले जित दर्ता गराएका छन्।

काठमाडाैँ– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल मेड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित दर्ता गराएका छन्।

सिटीले डेनमार्कको एफसी कोपनहगेनलाई उसैको मैदानमा ३–१ गोलले हरायो। सिटीका लागि खेलको दशौँ मिनेटमा केभिन डे ब्रुइनले पहिलो गोल गरे। तर ३४ मिनेटमा कोपनहगेनका माट्सनले बराबरी गोल फर्काए। पहिलो हाफको अन्तिममा बर्नान्डो सिल्भाको गोलबाट सिटीले पुन: अग्रता लियो।

दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फिल फोडेनले तेस्रो गोल गरेपछि सिटीले जित हात पार्‍यो।

यस्तै, गए राति नै सम्पन्न अर्को खेलमा रियल मेड्रिडले जर्मन क्लब आरबी लाइपजिगलाई १–० गोलले हरायो। रियलको जितमा ब्राहिम डियाजले ४८ मिनेटमा गरेको गोल निर्णायक सावित भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको शुरूआतमा नै डियाजले गोल गरेका थिए।

अब दोस्रो लेग मार्च ६ मा खेलिनेछ।