सेकुङ र भुतर्छो तालको बीचमा म्हरक्पुं खोलाले कटान गरेर बनाएको खोंचमाथि झोलुंगे पुल निर्माण भएको हो।
म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुंगे पुल निर्माण भएको छ। स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुंगे पुल निर्माण गरेको हो।
थासाङ–२ कोवाङका वडाध्यक्ष गौतम शेरचनले ४५ लाख ३२ हजार रुपैयाँ लागतमा ८३ मिटर लामो झोलुंगे पुल निर्माण भएको जानकारी दिए। “म्हरक्पुं दोङ खोलामा पुल नहुँदा बर्खामा पर्यटक र स्थानीयवासीले जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या थियो,” उनले भने, “पुल बनेपछि सुरक्षित आवतजावतका साथै एउटादेखि अर्को ताल पुग्न लाग्ने समय ३० मिनेटबाट पाँच मिनेटमा छोट्टिएको छ।”
कोवाङ, खन्ती, नाउरीकोट, ताङछरा, लार्जुङलगायत बस्तीका १६० घरधुरीका साथै ताल भ्रमणमा आउने पर्यटक पुलबाट लाभान्वित भएका छन्। सेकुङ र भुतर्छो तालको बीचमा म्हरक्पुं खोलाले कटान गरेर बनाएको खोंचमाथि झोलुंगे पुल निर्माण भएको हो। स्थानीयवासी विशाल परियारका अनुसार पुल बनेपछि घुमाउरो बाटोमा खोला तरेर यात्रा गर्नुपर्ने समस्या हटेको छ।
पुल निर्माणका लागि स्वाप कार्यक्रमले ३४ लाख ७५ हजार, गाउँपालिकाले पाँच लाख ८९ हजार, टीबीएसयूले तीन लाख ८६ हजार रुपैयाँ सहयोग गरेको छ। उपभोक्ता समूहले ९० हजार रुपैयाँ बराबरको श्रमदान गरेका वडा कार्यालयले जनाएको छ।
धवलागिरि र टुकुचे हिमालको फेदीमा रहेको सेकुङ र भुतर्छो ताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। दुईवटै तालको पृष्ठभूमिमा पूर्वतर्फ नीलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ। करिब एक सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइको गोलो आकारको सेकुङ ताल समुद्री सतहबाट दुई हजार सात सय २५ मिटरको उचाइमा अवस्थित छ। ताल परिसरमा चौँरी, भेडाबाख्रा र गाईभैँसीको चरन खर्क छ।
समुद्री सतहबाट दुई हजार ६८३ मिटरको उचाइमा सल्ला र धुपीका रुख रहेको जंगलको बीचमा अवस्थित भुतर्छो तालको लम्बाइ करिब ५०० मिटर, चौडाइ ५० मिटर र गहिराइ पाँच मिटर भएको अनुमान छ। थकाली भाषामा पुच्छोर भनेर चिनिने भुतर्छो ताल विभिन्न प्रजातिका हाँस, चरा र रतुवा मृगको बासस्थान क्षेत्र हो।
सुक्खा मौसममा यस तालमा पूजाआजा गरेमा वर्षा हुने जनविश्वास छ। बेनी–जोमसोम सडकको ताङछरबाट साढे तीन किलोमिटर कच्ची सडकको यात्रापछि पुगिने सेकुङ र भुतर्छो तालमा गाउँपालिकाले पदमार्ग, पर्खाल, सार्वजनिक शौचालयलगायतका पूर्वाधार निर्माण गरेको छ। सेकुङ र भुतर्छो ताल म्हरक्पुं दोङ खोलाको वारिपारी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
