बालबालिकाको अक्षरारम्भ गर्न स्वयम्भूस्थित सरस्वती मन्दिरमा श्रद्धालुको भीड (तस्वीरहरू)

सरस्वतीलाई विद्या र बुद्धिकी देवी मानिन्छ, जसको कारण यस दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ।

काठमाडाैँ– माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व, यस दिन विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ। 

यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ। सरस्वतीलाई विद्या र बुद्धिकी देवी मानिन्छ, जसको कारण यस दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरे बालबालिका मेधावी बन्ने विश्वास रही आएको छ। 

सोही विश्वासका साथ बुधबार बिहानैदेखि  स्वयम्भूस्थित सरस्वती मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ। टाढाटाढाबाट आफ्ना छोराछोरीलाई लिएर अक्षरारम्भ गराउन अभिभावकहरू मन्दिरमा पुगेका छन्। यस्तै, त्यहाँ विद्यार्थीहरूको पनि भीड छ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। 

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ।