पर्सामा ६ महिनामा २०७ सवारी दुर्घटना, २७ जनाले गुमाए ज्यान

जिल्लामा भएका कुल सवारी दुर्घटनामध्ये ६५ प्रतिशत दुर्घटना मोटरसाइकलसँग सम्बन्धित छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक नै बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

पर्सा– सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या पर्सामा बढ्दै गएको छ। गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सवारी दुर्घटनामा ५८ प्रतिशत वृद्धि भएको छ भने ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले बढेको हो।

गत आवको पहिलो ६ महिनामा भएका १३१ सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो। सो तुलनामा चालु आवको सोही अवधिमा २०७ सवारी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ। जिल्लामा भएका कुल सवारी दुर्घटनामध्ये ६५ प्रतिशत दुर्घटना मोटरसाइकलसँग सम्बन्धित छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक नै बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए।

उनले सबैभन्दा बढी सवारी दुर्घटना जिल्लाको ग्रामीण भेगमा हुने गरेको छ। उनले दुर्घटनाको मुख्य कारण द्रुतगतिमा सवारीसाधन चलाउनु नै रहेको बताए। सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या वृद्धि भएसँगै दुर्घटनामा परी गम्भीर घाइते हुनेको संख्या १९ प्रतिशत र सामान्य घाइतेको संख्या ५० प्रतिशतले वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

गत आवमा भएका सवारी दुर्घटनामा परी गम्भीर ४१ र सामान्य १८१ घाइते भएको तुलनामा चालु आवमा गम्भीर घाइते हुनेको संख्या ४९ र सामान्य घाइतेको संख्या २७१ पुगेको निरीक्षक खतिवडाले जानकारी दिए। उनले बढ्दो सवारी दुर्घटनालाई न्यून गर्न ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा आयोजना गरेको चेतनामूलक कार्यक्रममा ४१ हजारभन्दा बढी व्यक्तिलाई सवारी ऐनबारे जनचेतना दिएको बताए।